धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा ठेगाना रहेको तेडी निर्माण सेवा प्रालि विभिन्न निर्माण योजनामा ठेक्का हात पार्ने, सम्झौता गरेर पेश्की पनि लाने तर काम भने समयमा पुरा नगर्ने निर्माण कम्पनीको सूचीको अग्रस्थानमा देखिएको छ । दीलबहादुर ओली सञ्चालक रहेको तेडी निर्माण सेवा कम्पनीमा दीलबहादुरका छोरा सिद्ध ओलीले ठेक्का योजना ह्याण्डिल गर्छन् ।
तेडी निर्माण सेवा प्रालिले धनगढी उपमहानगरमा दुई वटा पुल र एउटा सडक योजना, पूर्वाधार विकास कार्यालयको तीन वटा सडक योजना र डोटीको केआइसिंह गाउँपालिकाको दश सय्याको अस्पताल अलपत्र पारेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को सुकुटी नालामा दोघरा र जाली गाउँ जोड्ने पुल, धनगढी उपमहानगरपालिकाबाटै वडा नम्बर १६ मा रहेको भादा होमस्टे जाने बाटोमा पर्ने घुरही नदीमा पक्की पुल र धनगढी–१२ जुगेडाको चक्र खड्काको घरदेखि डम्बर साउँदको घरसम्मको सडक सडक अलपत्र पारेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को सुकुटी नालामा दोघरा र जाली गाउँ जोड्ने पुल निर्माणको ठेक्का लिएको चार वर्षसम्म तेडी निर्माण सेवा प्रालिले कामनै गरेन । उपमहानगरपालिकासँग २०७८/०७९ मा सो पुलको ठेक्का सम्झौता भएपछि १८ लाख २८ हजार रुपैयाँ पेश्की लिइसकेपछि तेडी सम्पर्कविहीन भएको थियो ।
तेडीले मित्र र तेज निर्माण सेवासंग मिलेर २०७८ कात्तिक १५ गते धनगढी उपमहानगरपालिकाबाट ठेक्का लिएर काम नगरेपछि उपमहानगरपालिकाले तेडीको जमानत झिकेर जेभीमा रहेको अर्को कम्पनीलाई काममा लगाएर पुल निर्माण गर्दैछ ।
चार करोड १२ लाख २७ हजार २४८ रुपैयाँ लागत अनुमान रहेको सो पुल निर्माणको ठेक्का आधा रकममा कबोल गरी दुई करोड २८ लाख ७२ हजार २७४ रुपैयाँमा सो तेडीले ठेक्का हात पारेको थियो ।
धनगढी उपमहानगरपालिकाबाटै वडा नम्बर १६ मा रहेको भादा होमस्टे जाने बाटोमा पर्ने घुरही खोलामा काठेपुल हटाएर पक्की पुल बनाउने ठेक्का सोही मितिमा लिएको थियो । मित्र निर्माण सेवासंग जेभी गरेर पाँच करोड ४० लाख ४१ हजार ५२८ रुपैयाँ लागत अनुमान रहेको सो पुलको ठेक्का तीन करोड दुई लाख ५४ हजार ५१८ रुपैयाँमा तेडीले लिएको थियो । उपमहानगरका अनुसार ठेक्का सम्झौतापछि ३६ लाख रुपैयाँ पेश्की लिएको तेडीले काठेपुल भत्काइ पक्की पुलको पाइल हाल्न जग खनेर सम्पर्कविहीन भएको थियो ।
यो ठेक्काको काम पनि तेडीले नगरेपछि जमानत झिकेर जेभीमा रहेको अर्को कम्पनीलाई काम गराइरहेको धनगढी उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर दिजराज भट्टले बताए । उनले पटक–पटक म्याद थप लिएपनि काम नगरेपछि तेडीलाई कारबाही गरी जेभीमा रहेको अर्को कम्पनीलाई काम गराएको बताए । उनले यी दुवै पुलमा मित्रले काम गरी ठेक्का सम्पन्न हुने अवस्थामा पुगेको बताए । ‘गत वर्ष दुवै पुलको ढलान भइसकेको छ,’ उनले भने, ‘पुलको पंखा र बाटो बनाउनमात्रै बाँकी छ ।’
धनगढी उपमहानगरपालिकाबाट २०७६/०७७ मा धनगढी–१२, जुगेडामा नालीसहित सडक कालोपत्रे गर्ने ठेक्का तेडी निर्माण सेवाले लिएको थियो । तर, सो ठेक्कामा पनि ३९ लाख रुपैयाँ पेश्की लिएर कामनै नगरेपछि उपमहानगरपालिकाले ठेक्का तोडेको थियो । ठेक्का तोडेको भन्दै तेडीले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । ‘अदालतबाट उपमहानगरपालिकाको पक्षमा फैसाला भयो,’ इञ्जिनियर भट्टले भने, ‘त्यसपछि जरिवाना तिरेर तेडीले नै सो सडक निर्माण गरिरहेको छ ।’
प्रदेश सरकारका योजना पनि अलपत्र
तेडीले धनगढी उपमहानगरपालिकाको योजनामात्रै सुदूरपश्चिम प्रदेश सरकारको योजना पनि अलपत्र पारेको छ । पूर्वाधार विकास कार्यालय कैलालीबाट तीन वटा सडक निर्माणको ठेक्का लिएको तेडीले बल्ल–बल्ल एउटा ठेक्का सम्पन्न गरेको छ भने दुई वटा ठेक्का जीर्ण अवस्थामा छन् ।
तेडीले पूर्वाधार विकास कार्यालयबाट प्रदेश गौरवको भजनी छोटी भन्सार–खिमडी ठूलीगाड सडकअन्तर्गत बौनिया बजारभन्दा उत्तर तीन किलोमिटर डिबिएटी गर्न, मालाखेती–ओलानी–फल्टुडे सडकअन्तर्गत कृष्ण मन्दिरदेखि बान्द्रेखालसम्म सडक कालोपत्रे गर्न र घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा शितलपुर–सिमली सडक कालोपत्रे गर्न ठेक्का लिएको थियो ।
सोमध्ये प्रदेश गौरवको ठेक्का हालै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । प्रदेश गौरवको सडकमा समेत तेडीले काम नगरेपछि जेभीमा रहेको केएस कन्स्ट्रसनबाट काम गराइएको थियो ।
ओलानी सडकमा तीन किलोमिटर खण्ड कालोपत्रे गर्नका लागि २०७९ चैत १७ गते तेडी र पूर्वाधार विकास कार्यालयबीच ठेक्का सम्झौता भएको थियो । सो ठेक्का अढाई वर्षमा सम्पन्न गर्ने गरी छ करोड ६१ लाख ४१ हजार २०६ रुपैयाँमा तेडीले लिए पनि हालसम्म सव बेसमात्रै निर्माण भएको इञ्जिनियर जितेन्द्रसिंह धामीले बताए । पटक–पटक म्याद थप गर ेपनि तेडीले काम नगरेपछि गोदावरी नगरपालिकाको वडा नम्बर ३, १०, ११ र १२ का वडाकार्यालय सडकमै सञ्चालन गरेर जनप्रतिनिधिले विरोध गरेका थिए । त्यसपछि आउँदो चैतसम्म ठेक्का सम्पन्न गर्ने गरी आन्दोलित पक्ष र ठेकेदारबिच सम्झौता भएको छ । तर तेडीले पछिल्लो सम्झौताअनुसार काम नगरेको वडा नम्बर १२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताए ।
शीतलपुर–सिमली सडक कालोपत्रे गर्न २०७९ चैत्र १७ गते छ करोड ८८ लाख ४० हजार ८२४ रुपैयाँमा पूर्वाधार विकास कार्यालय र तेडीबिच सम्झौता भयो । २०८१ साउन १७ गतेसम्म म्याद दिइएको भए पनि हालसम्म १५ प्रतिशतमात्रै काम गरेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर हर्क जोशीले बताए । उनले फागुन मसान्तसम्म काम गर्ने प्रतिवद्धता जनाएको बताउँदै केही नाली निर्माण, सव बेस, बेस र डिबिएटीको काम बाँकी रहेको बताए । सो ठेक्कावाफत् एक करोड ३४ लाख ८८ हजार ३०४ रुपैयाँ तेडीले भुक्तानी लिएको छ ।
तेडी निर्माण सेवाले डोटीको केआईसिंह गाउँपालिकाको १० सैय्याको अस्पताल निर्माण समेत अलपत्र पारेको छ । २०७९ असोज २३ गते निर्माण भइसक्ने गरी २०७८ असार २३ गते गाउँपापालिकाले केएस–तेडी–मनिलेक जेभीलाईलाई भ्याटसहित आठ करोड १५ लाख ७८ हजार रुपैयाँमा ठेक्का दिएको थियो । पटक–पटक म्याद थप गरे पनि अस्पताल भवन निर्माण नभएपछि १० सय्याको अस्पताल सञ्चालन गर्ने योजनानै प्रभावित भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नविन माझीले बताए ।
तेडी निर्माण सेवाका सिद्ध ओलीले कोभिड लागेपछि काम गर्न रोकिएको पुराना ठेक्कामा बजेट अभाव र निर्माण सामाग्रीको अभावमा काम गर्न नसकिएको बताए । ‘धेरै वटा ठेक्का थियो,’ उनले भने, ‘एक/एक गरेर काम अगाडि बढाउँदा ढिलो भएको हो । केही ठेक्काको काम सक्किएको छ । केही सकिने क्रममा छ । सडकहरुको काम बाँकी छ । फागुन चैतसम्म ती ठेक्काको काम पनि सक्याउँछु ।’
प्रतिक्रिया