धनगढी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत कम्युनिष्ट घटकहरुको एकता घोषणाको अघिल्लो दिन मंगलबार माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रगतिशील अभियान घोषणा गरे ।
माओवादीबाट औपचारिकरुपमा अलगिएका शर्माको पक्षमा केन्द्रमा राम कार्की, सुदन किराती, अन्जना बिशंखेलगायत माओवादी नेताहरु खुलेर लागेका छन् ।
सुदूरपश्चिममा पनि माओवादीका केही नेताहरु जनार्दनको पक्षमा खुलेका छन् । यद्यपि यहाँका अधिकांश नेताहरु माओवादीमै देखिन्छन् । सुदूरपश्चिमबाट केन्द्रीय सदस्य कैलालीका ओमप्रकाश पुन, भगत बडुवाल, अछामका दीपक थापा जनार्दनको पक्षमा खुलेका छन् ।
संविधान सभा सदस्यसमेत रहेका बडुवाल गत निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । पुन एकता प्रकृयाबाट आएका हुन् ।
‘अहिले छलफलमा छौँ, नेताहरु खुल्दै हुनुहुन्छ’ बडुवालले दावी गरे, ‘यहाँ अरु केही नेता पनि जनार्दनको पक्षमा हुनुहुन्छ, केही दिनमै सबै प्रष्ट हुन्छ ।’ केन्द्रीय सदस्य बिमला सिंह, हेमराज भट्टराइ, टेकेन्द्र भट्टलगायत नेताहरु पनि जनाद्र्धनको पक्षमा रहेका बडुवालले बताए ।
माओवादी सुदूरपश्चिम प्रदेश समितिका एक पदाधिकारीले भने जनार्दनको पक्षमा एक-दुई नेता देखिए पनि सुदूरपश्चिममा खासै असर नपर्ने दावी गरे । ‘हामी सबै एकै ठाउँमा छौँ, एक-दुई जनाले बाटो बिराएर जाँदैमा अन्यथा मान्नु हुँदैन’ उनले भने, ‘वाम घटकहरुको एकताले कार्यकर्ता पंक्ति पनि उत्साहित छ ।’
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादीसहित विभिन्न पार्टी र समूहबिच बुधबार काठमाडौँमा एकता घोषणा भएको छ । नयाँ पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राखिएको छ ।
प्रतिक्रिया