काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भानुभक्त जोशी नियुक्त भएका छन् । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्षसमेत रहेका जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।
महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको हो । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख बनाइएको सचिव सोमप्रसाद पाण्डेयले बताएका छन् ।
संगठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघ समाजवादीको इन्चार्ज बनाइएको छ ।
त्यस्तै उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ । महासचिव घनश्याम भुसालले अनुगमन विभागको जिम्मेवारी पाएका छन् ।
उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरी लुम्बिनी इन्चार्जको जिम्मेवारी दिइएको छ ।
पार्टीका सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको एकीकृत समाजवादीले जनाएको छ ।
प्रतिक्रिया