धनगढी । भजनी नगरपालिका–८ ढुसीका किसान कृष्णा चौधरी रासायनिक मल किन्नका लागि भजनी बजारमा रहेको साना किसान सहकारीअगाडि सोमबार रातभर लाइनमा बसिन् । बिहान ९ बजेसम्म लाइनमा बसेकी उनले एक बोरा मल किन्न पाइनन् ।
मल किन्न आउने किसानको भिड बढी भएको र मलको मौज्दात कम हुँदा विवाद आउने देखेर सहकारीले मंगलबार मल बिक्री गर्न सकेन । ‘चिसोमा रातभर लाइन लागेर बिहान खाली हात फर्कनु प¥यो,’ चौधरीले भनिन, ‘सहकारीले एक जनालाई एकपटक एक बोरा मल दिन्थ्यो । भिड बढी भएकाले सबैलाई नपुग्ने भएपछि त्यो पनि पाइएन ।’
चौधरीका अनुसार बिहानसम्म मलका लागि लाइन लाग्ने किसानको संख्या चार सयभन्दा बढी पुगिसकेको थियो । उनले आफूले २० विघा जमिन ठेक्कामा लिएर गहुँ लगाएको बताइन् । ‘गहुँ सिँचाइ गरिसक्यौँ, अहिले युरिया हाल्ने बेला हो,’ चौधरीले भनिन्, ‘कम्तीमा ३५ बोरा मल चाहिन्छ, सहकारीमा रातभर लाइनमा लागेर एक बोरा पाउन मुस्किल छ ।’
भजनीकै अर्का किसान गणेश साउँद पनि सोमबार रातभर लाइन लागेर बिहान रित्तै फर्किए । ‘सहकारीमा तीन सय बोरा मल मात्र रहेछ, लाइनमा पाँच सयभन्दा बढी पुगे,’ उनले भने, ‘एक–एक बोरा पनि भाग नपर्ने भएपछि सहकारीले बाँड्न सकिदैन भनेर फर्कायो ।’ अहिले सिँचाइ गरेपछि गहुँको बोट हुर्किन युरिया मल आवश्यक पर्ने बताए । मल नहाले उत्पादनमा ह«ास आउने भए पनि मल पाउन मुस्किल रहेको उनले बताए ।
साना किसान सहकारीका व्यवस्थापक बसन्ती चौधरीले तीन सय आठ बोरा युरिया आएकोमा पाँच सयभन्दा बढी किसान आएकाले वितरण गर्न नसकिएको बताइन् । उनले कृषि सामग्रीले केही दिनपछि थप मल दिने भनेकाले थप मल आएपछिमात्र मल वितरण गरिने बताइन् । सरकारी अनुदानको मल बिक्री गर्ने भजनीकै अन्य दुई पसलमा पनि सोमबार रातभर किसान लाइनमा बसे । ती दुई ठाउँमा पनि मल सकिएपछि कतिपय किसान रित्तै फर्किएका थिए ।
भजनी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ३ का अध्यक्ष बिक्रम चौधरीले नगरपालिकाभरि युरिया मलको चरम अभाव रहेको बताए । उनले रातभर लाइनमा लाग्दा पनि किसानले एक बोरा मल पाउन नसकेको बताए । यो सिजनमा ४३ हजार क्विन्टल युरिया आवश्यक पर्ने नगरपालिकाको कृषि शाखाले आँकलन गरेको तर हालसम्म साढे सात हजार क्विन्टलमात्र मल आएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
‘किसानले मलका लागि यस्तो चिसोमा रातभर रोडमा लाइनमा बस्दा पनि मल नपाउने अवस्था छ,’ चौधरीले भने, ‘यहाँ दिने मलको कोटा बढाइ दिन बारम्बार आग्रह गरेका छौँ ।’ भजनी नभइ जोशीपुर गाउँपालिकालगायत केही पालिकामा पनि किसानले युरिया मल पाएका छैनन् ।
किसान मलका लागि भौँतारिरहँदा सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा भने कैलालीका लागि सात सय ४३ मेट्रिकटन युरिया मौजदात छ । कार्यालयका प्रमुख नवलसिंह बोगटीले हालै आएको यो मल पालिकाहरुलाई निर्धारित कोटाअनुसार वितरण भइरहेको जानकारी दिए । उनले अरु पालिकाबाट त्यस्तो गुनासो नआए पनि भजनी र जोशीपुरमा किसानले मल नपाएको गुनासो गरिरहेका बताए । थप दुई हजार ४८९ मेट्रिकटन युरिया केही दिनमै आउन लागेको जानकारी दिँदै बोगटीले उक्त मल अभाव भएका ठाउँमा वितरण गरिने बताए ।
‘अहिले आएको यो मल कोटाअनुसार वितरण गरिरहेका छौँ, केही दिनमै थप मल आएपछि पनि पठाउँछौँँ’ बोगटीले भने, ‘विगत वर्षहरुमा भन्दा यसपालि मलको त्यति अभाव छैन ।’ प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवको संयोजत्वमा मल वितरण व्यवस्थापन समिति छ । उक्त समितिले मल आएपछि प्रत्येक ‘लट’मा कुन पालिकालाई कति मल बिक्री गर्ने भनेर कोटा निर्धारण गर्छ ।
बोगटीका अनुसार यसरी कोटा तोकिएपछि सम्बन्धित पालिकामा उपप्रमुखको नेतृत्वमा रहने समितिले कृषि सामग्रीमा सूचिकृत पालिकाका सहकारी वा डिलरलाई कति परिणाममा मल दिने भनेर कृषि सामग्रीलाई सिफारिस गर्छ । सूचीकृत सहकारी र डिलरले कृषि सामग्रीबाट किनेर किसानलाई मल बेच्छन् ।
प्रतिक्रिया