धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आठौं पटक निर्वाचन लड्ने सम्भावना बढेको छ । जेन–जी आन्दोलनको झण्डै दुई महिनापछि राजनीतिक सक्रियता बढाएका देउवाले पछिल्लो समय डडेल्धुराका नेता–कार्यकतासंग भेटघाट बाक्लो पारेका छन् । आफ्नो दल नेपाली कांग्रेस मात्रै नभएर अन्य दलका नेताहरुसंग पनि देउवाले आफ्नै निवास माहाराजगञ्जमा भेटघाट गर्न थालेका छन् ।
भेटघाटका क्रममा देउवाले डडेल्धुराबाट आठौं पटक निर्वाचन लड्ने इच्छा देखाइरहेको नेताहरु बताउँछन् । ‘खुलेरै उहाँले प्रतिनिधिसभा निर्वाचन लड्छु त भन्नुभएको छैन,’ डडेल्धुरा कांग्रेसकै एक नेताले भने, ‘तर, उहाँको कुरामा डडेल्धुराबाट अन्तिमपटक भए पनि निर्वाचन लड्ने इच्छा देखिन्छ ।’ कतिपय नेताहरुलाई भने देउवाले आफू अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्न तयार भइसकेको बताएका छन् । ‘उमेर धेरै भइसक्यो, अब अन्तिमपटक निर्वाचन लड्छु,’ डडेल्धुरा कांग्रेसका अर्का नेताका अनुसार देउवाले भन्ने गरेका छन् ।
देउवा डडेल्धुराबाट सात पटक संघीय निर्वाचनमा विजयी भइसकेका छन् । २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा देउवाको विजयी यात्रालाई कसैले रोक्न सकेनन् । देउवा एकपटक कञ्चनपुर र एकपटक कैलालीबाट पनि निर्वाचनमा विजयी भएका थिए । तर, सोही समयमा डडेल्धुराबाट पनि निर्वाचित देउवाले दुबै सयममा गृहजिल्लालाई नै रोेजेका थिए ।
देउवा मात्रै होइन उनकी पत्नी पूर्वमन्त्री तथा कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पनि आफ्ना कार्यकर्तालाई प्रतिनिधिसभा निर्वाचन लड्ने बताइरहेकी छिन् । ‘आरजु म्यामले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (धनगढी क्षेत्र) बाट प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसक्नु भएको छ,’ कैलाली कांग्रेसका एक नेताले भने ।
०७४ सालमा एमालेका नारदमुनि रानासंग यही निर्वाचन क्षेत्रमा पराजित भएकी आरजुले त्यसपछिको पाँच वर्ष भने सक्रियता बढाएकी थिइन् । उनको सक्रियताकै कारण ०७९ सालको निर्वाचनमा कैलाली– ५ बाट आरजुको नाम एकल रुपमा सिफारिस भएको पनि थियो । तर, उनले समानुपातिक निर्वाचन प्रणाली रोजेकी थिइन् ।
प्रतिक्रिया