धनगढी । कैलालीको धनगढीमा १९औं संस्करणको सुदूरपश्चिम महोत्सव सुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबीच अर्थमन्त्री रामेश्वर खनालले उद्धाटन गरे । महोत्सवको उद्धाटन गर्दै अर्थमन्त्री खनालले सुदूरपश्चिमको समृद्धिसंग जोडिएका ठुला आयोजना निर्माण र सञ्चालनमा वर्तमान सरकार सकारात्मक रहेको बताए । ‘हाम्रो मुख्य काम त निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने नै हो,’ अर्थमन्त्री खनालले भने, ‘त्यसबाहेक हाम्रो कार्यकालमा गर्न सकिने विकास निर्माणको काम पनि हुन्छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन दोधारा चाँदनीको सुख्खा बन्दरगाह निर्माण लगायतका योजना यो सरकारको प्राथमिकतामा छ ।’
प्रदेशको पर्यटन, कृषि र उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्यले महोत्सव आयोजना गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए । ‘समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्ने उद्येश्य पनि महोत्सव हो,’ उनले भने ।
२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सव सुरुवात गरेको स्मरण गराउँदै अध्यक्ष ओझाले १९ वर्षसम्म पनि केही माग पूरा हुन नसकेको बताए । ‘सुदूरपश्चिम प्रदेशका समृद्धिका आधारलाई १९ वर्षदेखि सरकार समक्ष मागका रुपमा प्रस्तुत गर्दै आएका छौं,’ उनले भने, ‘केही माग पूरा भए, केही पूरा हुने चरणमा छन् । तर केही महत्वपूर्ण मागहरु अहिलेसम्म पूरा भएका छैनन । धनगढीमा एउटा प्रदर्शनीस्थलसम्म निर्माण हुन सकेको छैन । यहाँको समृद्धिका लागि हुनुपर्ने धेरै काम भएका छैनन् ।’
सुदूरपश्चिम महोत्सवका संस्थापकसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले २०६३ सालमा सालिन आन्दोलनका रुपमा महोत्सवलाई सुरुवात गरिएको बताए । ‘सुदूरपश्चिमको समृद्धिका लागि आवश्यक मागहरु सरकार समक्ष पेश गर्ने एउटा सालिन आन्दोलनका रुपमा हामीले महोत्सव सुरु गरेका थियौं,’ उद्योग वाणिज्य संघ कैलालीका तत्कालिन अध्यक्षसमेत रहेका हमालले भने, ‘त्योसंगै यहाँको कला, सस्कृति र उत्पादनलाई एक ठाउँमा ल्याएर पर्वको रुपमा मनाउने परिकल्पना पनि हो ।’
हरेक वर्ष सुदूरपश्चिम महोत्सवको उद्धाटनमा प्रधानमन्त्री, मन्त्री वा प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर सुदूरपश्चिमको समृद्धिका आधार मानिएका आयोजनाको निर्माणका लागि बुँदागत रुपमा मागपत्र बुझाउँदै आइएको थियो । मागका बुँदा जत्तिकै किलोको माला बनाएर प्रमुख अतिथिलाई लगाउने परम्परा थियो । यसपटक भने अन्तरिक सरकारका मन्त्रीलाई माला लगाइएन ।
‘पर्यटन, संस्कृति, उद्योग र व्यापार ः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव आयोजनामा तीन करोड लागतको अनुमान गरिएको छ भने १५ करोड बराबरको कारोबार हुने संघले जनाएको छ । सात लाख व्यक्तिले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय बढी स्टलहरु छन् । सुदूरपश्चिम महोत्सव सुरुवातदेखि नै मंसिर २२ गतेबाट हुँदै आएको छ ।
महोत्सवको अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकटदर तोकिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया