नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय लिएका हुन् ।
सुदूरपश्चिमले लिग चरणका सात खेलमा ६ जित र एक हारको नतिजासहित १२ अंक जोडेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो । विराटनगरसँग हार व्यहोरेको सुदूरपश्चिमले काठमाण्डू गोर्खाज्, पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र चितवन राइनोजविरुद्ध जित निकालेको थियो ।
लिग चरणमा विराटनगरले सात खेल खेल्दा पाँच जित र दुई हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेको हो । काठमाण्डू, पोखरा, जनकपुर, कर्णाली र सुदूरपश्चिमलाई हराएको विराटनगरले चितवन र लुम्बिनीसँगको खेल भने गुमाएको थियो ।
यो खेल जित्ने टोलीले सिधै फाइनलको टिकट काट्ने छ । हार्ने टोलीले पनि फाइनल पुग्ने अर्को मौका पाउनेछ ।
प्रतिक्रिया