ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा भुवा पर्व महोत्सव सुरु, तीन दिनसम्म चल्ने

शुक्रबार ०४, पुष २०८२ ०५:०८

धनगढी । कैलालीको धनगढीम रंगशालामा भुवा पर्व महोत्सव सुरु भएको छ । ६ गतेसम्म सञ्चालन हुने महोत्सवको सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्धाटन गरिन् । बाजुरेली सेवा समाजको आयोजनामा सुरु भएको महोत्सवमा भुवाचाली (भुवा खेल) प्रतियोगिता पनि हुने बताइएको छ ।

बाजुरेली सेवा समाजका अध्यक्ष भरत केसीले भुवाचाली खेल प्रतियोगितासंगै विभिन्न सांगितिक र सांस्कृतिक कार्यक्रमहरू पनि भइरहेको जानकारी दिए । भुवाचाली प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको समाजका सहसचिव गगन अयडीले जानकारी दिए । ‘प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ,’ अयडीले भने । 

खासगरी बाजुरामा धुमधामका साथ मनाइने भुवा पर्व पछिल्ला वर्षहरुमा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि मनाइँदै आएको छ । पहाडका जिल्लाबाट तराई बसाइँ सर्ने क्रम बढेसंगै धनगढीमा पनि भुवा महोत्सव र भुवाचाली खेल प्रतियोगिता गर्न थालिएको समाजका अध्यक्ष केसीले बताए । 

भुवा पर्वलाई भस्सो पनि भन्ने चलन छ । दौरा सुरुवालमा सजिएर हातमा ढाल तरवार लिएर दमाहाको बाजामा भुवा खेल खेलिन्छ । यस अवसरमा गाउँ सहरका व्यक्तिहरु एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राति धुनी जगाउन काठका ठुला मुडा बाल्ने चलन छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । भुवा पर्वकै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज एक दिन सार्वजनिक बिदा पनि दिएको थियो । 

प्रतिक्रिया