धनगढी । प्रतिनिधि सभा निर्वाचनको टिकट वितरणको विषय लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कैलालीमा असन्तुष्टी बढेको छ ।
कैलालीको निर्वाचन क्षेत्र नं. १ र ५ मा टिकट वितरण प्रति रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्ट र धनगढी नगर नगर समितीले भीमबहादुर बोहराले असन्तुष्टी जनाएका छन् ।
साबिक नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थारूवान थारूहट अभियन्तासँगको एकतापछि कैलालीका ५ निर्वाचन क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा साबिक नाउपा र थारूवान थारूहट अभियन्तालाई भागबण्डा गरिएको थियो ।
सोही अनुसार कैलाली १ मा कोमल ज्ञावली र कैलाली ३ मा रास्वपाले लक्ष्मण थारूलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं. २ मा केपी खनाल, क्षेत्र नं. ४ मा हरि रेग्मी र क्षेत्र नं. ५ मा आनन्द चन्दलाई रास्वपाले उम्मेदवार बनाएको छ ।
रास्वपा प्रदेश सभापति बिष्टले कैलाली क्षेत्र नं. १ मा नगरबाट एकल सिफारिस हुँदा समेत आफूले टिकट नपाएको भन्दै टिकट वितरणको विरोध जनाएका छन् ।
टिकापुर नगर समिति, जानकी र जोशीपुर गाउँ समिति तथा क्षेत्रीय समितिले पुनः केन्द्रलाई प्रदेश सभापतिको एकल नाम सिफारिस गरेका छन् ।
कैलाली क्षेत्र नं. ५ मा रास्वपाले चन्दलाई टिकट दिएपनि धनगढी नगर समितीले जिल्ला सभापतिसहितको बैठकबाट भीमबहादुर बोहरालाई एकल सिफारिस गरेको थियो ।
प्रतिक्रिया