ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको टिभेट प्रोफाइल प्रमाणीकरण

आइतबार ११, माघ २०८२ ०६:२०

धनगढी । सुदूरपश्चिम प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको वस्तुगत विवरण ९टिभेट प्रोफाइल० माथि विस्तृत छलफल तथा प्रमाणीकरण सम्पन्न भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित ‘युवाहरूका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम’ ९क्वालिटी० परियोजनाको आयोजनामा आइतबार सो छलफल तथा प्रमाणीकरण गरिएको हो । कार्यक्रममा प्रदेशको प्राविधिक शिक्षाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे छलफल भएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्काले बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच देखिएको खाडललाई यस प्रोफाइलले दिने तथ्याङ्कका आधारमा योजना बनाई परिपूर्ति गरिने विश्वास व्यक्त गरे । सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले शिक्षालय र उद्योगहरूबीच समन्वयको अभाव हुँदा उत्पादित जनशक्तिले सोचेअनुरूप रोजगारी पाउन नसकेको बताइन् ।

सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख जयदेव महराले टिभेट प्रोफाइललाई ‘रगत परीक्षण’ को संज्ञा दिँदै यसले प्रदेशको प्राविधिक शिक्षा क्षेत्रका सबल र दुर्बल पक्ष पहिल्याएर सुधारको मार्ग प्रशस्त गर्ने उल्लेख गरे । कार्यक्रममा प्रोफाइलको मुख्य सार प्रस्तुत गर्दै विज्ञ सागर मणि न्यौपानेले प्रदेशस्तरीय टिभेट रणनीतिक योजना हुनुपर्नेमा जोड दिए ।

प्रस्तुतीकरण पश्चात क्वालिटी परियोजनाका प्रदेश प्रबन्धक उद्धव सुवेदीको सहजीकरणमा समूहगत छलफलबाट सहभागीहरूले आफ्ना धारणा र सुझाव राखेका थिए । सहभागीहरूले विशेषगरी प्राविधिक शिक्षा हासिल गरेका जनशक्तिको आर्थिक अवस्था र आम्दानीको स्तरलाई समेत प्रोफाइलमा समेट्न सुझाव दिएका थिए । 

कार्यक्रमको समापन गर्दै मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र प्रसाद भट्टले प्राप्त रचनात्मक सुझावहरूलाई प्राथमिकताका साथ समावेश गरी आगामी एक महिनाभित्रै प्रोफाइललाई अन्तिम रूप दिई सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी र प्रदेशका विभिन्न प्राविधिक शिक्षालयका प्राचार्यहरूको सक्रिय सहभागिता थियो ।

प्रतिक्रिया