ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा पूर्वसहकर्मीबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

आइतबार २५, माघ २०८२ ०९:५६

धनगढी । बैतडीमा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक छ । सांगठनिक रुपमा बलिया रहेका कांग्रेस र एमालेलाई आफ्नै दुई पूर्वनेताबाट चुनौती छ । पछिल्ला तीन निर्वाचनमा बैतडीमा एमाले विजयी भएको छ । एमालेका दामोदर भण्डारीले ०७०, ०७४ र ०७९ सालको निर्वाचनमा जित निकाल्दै ह्याट्रिक गरिसकेका छन् । भण्डारी लगातार चौथो जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा छन् ।

विद्यार्थी जिवनबाटै राजनितिमा होमिएका भण्डारीसंग चारपटक मन्त्री सम्हालेको अनुभव छ । उनी एकपटक अर्थ राज्यमन्त्री र तीनपटक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भइसकेका छन् । बैतडीका अधुरा काम पुरुा गर्न र समृद्धिका लक्ष्य पूरा गर्न आफूसंग स्पष्ट नीति र योजना रहेको र सोही कारण उम्मेदवार बनेको भण्डारी बताउँछन् । अनुभव, इमान्दारिता र सशक्त नेतृत्वको अहिलेको आवश्यकता भएको भन्दै त्यो सबै गुण आफूमा भएको भण्डारीको दाबी छ । 

तर, बैतडीमा चौथो जित निकाल्ने भण्डारीको योजना असफल पार्न उनकै पूर्वसहकर्मी चुनावी मैदानमा छन् । भण्डारीका पूर्वसहकर्मी हुन्, परमानन्द भट्ट । जो नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छन् । बैतडी एमालेका संस्थापकसमेत रहेका भट्ट तत्कालीन एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा सहमाहित भएका हुन् । उनी एमालेको नेतृत्वमा हुँदा अहिलेका एमाले उम्मेदवार दामोदर भण्डारी विद्यार्थी राजनीतिमा थिए । बैतडीमा एमालेको संगठन बनाएका भट्ट अहिले एमालेकै विरासत तोड्ने भन्दै चुनावी मैदानमा उत्रिएका छन् । ‘बैतडीको विकास निर्माणका लागि र जिल्लामा सुशासन कायम गर्नका लागि मेरो उम्मेदवारी हो,’ उनी भन्छन् । 

बैतडीमा नेपाली कांग्रेसले भने आठ वर्षपछि उम्मेदवार उठाएको छ । ०७४ सालमा नरबहादुर चन्द कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए । ०७९ सालको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सघाएको थियो । २१ फागुनमा हुने निर्वाचनमा भने कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्द चुनावी मैदानमा छन् । उनी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष पनि हुन् । उम्मेदवारी दर्ता गरेर जिल्लाका सबै वडामा निर्वाचन अभियानसहित पुगेका चन्द गाउँगाउँमा कांग्रेसप्रति सकारात्मक दृष्टिकोण देखिएको भन्दै उत्साहित छन् । ‘बैतडीमा कांग्रेस नै विजयी हुने माहोल देखिएको छ,’ चन्दले भने । चन्द बैतडीवासीका लागि काम गर्न आफू तयार रहेको भन्दै एकपटक जिताउन मतदातालाई आग्रह गर्दै आएका छन् । ‘जनताको मत पाएर बैतडीवासीको लागि काम नगर्नु भनेको जनताप्रति गद्दारी हो, त्यो गद्दारी कांग्रेसबाट हुँदैन,’ उनले भनेर्, बैतडीवासीले जिम्मेवारी दिनुभयो भने त्यो जिम्मेवारी कुशलतापूर्वा निर्वाह गरेर देखाउने छु ।’

कांग्रेसका चन्दलाई पनि आफ्नै पूर्वसहकर्मीबाट भने चुनौती छ । उनका पूर्वसहकर्मी हुन्, हरिमोहन भण्डारी । उनी कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका हुन् । उनी २०७४ सालमा कांग्रेसबाट र ०७९ सालमा स्वतन्त्रबाट प्रदेशसभा सदस्य निर्वाचन पनि लडेका थिए । तर, दुबै निर्वाचनमा भण्डारी पराजित भएका थिए । देशलाई वर्षौँदेखि लुट्दै आएका भ्रष्ट नेता, सत्ता टिकाउन युवाको सपना कुल्चनेहरू र परिवर्तनको नाम सुन्नासाथ डराउने शक्तिहरूको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको भण्डारी बताउँछन् । ‘बैतडीले अब पुरानो राजनीति नभई इमान, साहस र जिम्मेवारीको राजनीति रोज्ने समय आएको छ,’ उनी भन्छन्, ‘यसपटकको निर्वाचनमा बैतडीबासीले इतिहास रच्नेछन् भन्ने मलाई विश्वास छ ।’

बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन पनि बलियो मानिन्छ । राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्द बैतडीबाट चुनावी मैदानमा उतारेको छ । पूर्वप्रधानमन्त्री चन्दको गृहजिल्ला पनि बैतडी नै हो ।

प्रतिक्रिया