ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘म निर्वाचित भए धनगढीमै सचिवालय खोल्छु, जनताले फाइल बोकेर काठमाडौं धाउनुपर्दैन’

शनिबार २४, माघ २०८२ ११:४४

धनगढी । कांग्रेस नेता नरनारायण शाह ‘मनु’ कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिसधभा सदस्य उम्मेदवार छन् । २१ फागुनमा हुने निर्वाचनका लागि उनी चुनावी मैदानमा उत्रिएका छन् । पहिलोपटक उम्मेदवार बनेका नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका मनुले नयाँ चुनावी एजेण्डा पनि ल्याएका छन् । 

संघीय सांसदमा निर्वाति भए जनताको सेवा र समस्या समाधानको केन्द्र काठमाडौं नभई धनगढी र निर्वाचन क्षेत्रमै बनाउने उनको दाबी छ । ‘देश संघीयतामा गइसकेपछि पनि यदि जनताले सानो कामका लागिसमेत सिंहदरबार धाउनुपर्छ भने संघीयताको अर्थ रहँदैन,’ उनी भन्छन्, ‘म निर्वाचित भएँ भने मेरो सचिवालय यही क्षेत्रमा राख्छु र जनताका सबै समस्या यहीँबाट समाधान गर्नेछु ।’

मनुले धनगढीमा स्थायी सचिवालय स्थापना गर्ने र त्यस सचिवालयलाई सेवा केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारेका छन् । उनका अनुसार सचिवालयमा आएका जनताका गुनासो, सुझाव र मागहरूलाई व्यवस्थित रूपमा संकलन गरी संघीय सदनमा उठाइनेछ । आवश्यक परे सम्बन्धित मन्त्रालय र निकायसँग प्रत्यक्ष समन्वय गरेर समाधानको पहल गरिनेछ ।

‘जनताले फाइल बोकेर काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्छु,’ मनु शाह भन्छन्, ‘सचिवालयमार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, कृषि, सिँचाइ जस्ता विषयमा पहल हुनेछ । सानोतिनो कामका लागि पनि सिंहदरबार पुग्नुपर्ने अवस्था रहँदैन ।’ मनुले आफू निर्वाचित भए काठमाडौं केन्द्रित शासनप्रणालीलाई चुनौती दिने बताएका छन् । ‘संघीयताको मर्म भनेकै निर्णय र सेवा जनताको नजिक पु¥याउनु हो,’ उनी भन्छन्, ‘सांसद भनेको राजधानीमा बसेर भाषण गर्ने मात्र होइन, जनताको घरदैलोमा पुगेर काम गर्ने प्रतिनिधि हो ।’

चुनावी अभियानका क्रममा मनु शाह गाउँ, टोलमा पुगेर स्थानीयका समस्या सुन्दै आएका छन् । सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य सेवा, शिक्षा र रोजगारी यहाँका प्रमुख समस्या रहेको उनी बताउँछन् । उनका अनुसार सांसदले पाँच वर्षमा एकपटक चुनावमा मात्र देखिने पुरानो राजनीतिक संस्कृतिको अन्त्य आवश्यक छ । ‘म जितेपछि पनि यहीँ रहनेछु,’ उनी भन्छन्, ‘जनताको समस्या सुन्न, छलफल गर्न र समाधान खोज्न सचिवालय सधैं खुला रहनेछ ।’

प्रतिक्रिया