धनगढी । प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा ह्याट्रिक जित निकाल्न सफल नेता हुन्, प्रेमबहादुर आले । ०७० सालदेखि उनी तीनपटक डोटीबाट चुनाव जितिसकेका छन् ।
दुई निर्वाचन क्षेत्र हुँदा ०७० सालको दोस्रो संविधानसभा चुनावमा आले निर्वाचीत भएका थिए । २०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । ०७४ मा आलेले माओवादीको साथ पाउँदा बलायर पराजित हुन पुगेका थिए । ०७९ सालमा भने बलायर कैलाली– ४ मा चुनाव लडे । एकीकृत समाजवादीबाट चुनाव लडेका आले कांग्रेसकै भरमा फेरि विजयी हुन सफल भए ।
अहिले डोटी जिल्लामा दुई मुख्य प्रतिस्पर्धीबिना निर्वाचन भइरहेको छ । आले कैलाली– ५ बाट नेकपा उम्मेदवार छन् । बलायरले कांग्रेसबाट कैलाली– ४ मा टिकट पाएका थिए । तर, उनी निर्वाचन लडेनन् ।
यसपटक डोटीमा नौ राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा छन् । सधैं गठबन्धनको रस्साकस्सीमा पर्ने डोटीमा आठ वर्षपछि नेपाली कांग्रेस चुनावी मैदानमा होमिएको छ । कांग्रेसले भरतबहादुर खड्कालाई प्रतिस्पर्धामा उतारेको छ । खड्का २०७० सालमा समानुपातिकतर्फ संघीय सांसद थिए । २०७४ सालमा उनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । खड्का अहिले घरदैलोमा व्यस्त छन् । सांगठनिक रुपमा डोटीमा बलियो मानिएको कांग्रेस सहज जित निकाल्ले दाउमा छ ।
नेकपा एमालेले भने डोटीमा युवा नेतालाई यसपटक चुनावी मैदानमा खडा गरेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई पार्टीले उम्मेदवार बनाएको हो । कच्ची सडक, गुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य उपचारका लागि स्टेचरमा बोकिनुपर्ने डोटीको बाध्यता अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको धामीको भनाइ छ ।
चुनावी मैदानमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट उम्मेदवार छन् । उनी मुख्यमन्त्री हुँदा गरेको कामलाई देखाउँदै भोट मागिरहेका छन् । यद्यपि, मुख्यमन्त्री हुँदा प्रदेश राजधानी गोदावरी तोकेको विषयलाई लिएर उनीमाथि जिल्लामा आरोप लाग्ने गरेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्का पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका खड्काले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ६ हजार ६८९ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । अघिल्लो पटक घण्टी चिह्न लिएका केशव बलायरले मात्र ७७४ मत ल्याए पनि यसपटक नरेन्द्रको व्यक्तिगत मत र रास्वपाको बढ्दो क्रेज मिसिँदा नतिजा उलटफेर हुन सक्ने विश्लेषण गरिएको छ ।
डोटीको आगामी नतिजालाई २०७९ सालको समानुपातिक मत परिणामले धेरै हदसम्म निर्देशित गर्ने देखिन्छ । गत निर्वाचनको तथ्याङ्क केलाउँदा यहाँ कांग्रेस र नेकपा एमालेबिचको मतान्तर निकै साँघुरो देखिन्छ । २०७९ मा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ५१६ मत ल्याउँदा एमाले २२ हजार ४५६ मतसहित पछ्याइरहेको थियो ।
प्रतिक्रिया