धनगढी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले घोषणापत्र सार्वजनिक गरेका छन् । मंगलबार सुखडमा पत्रकार सम्मेलन गर्दै उनले घोषणपत्र सार्वजनिक गरेका हुन् ।
उनले पाँच वर्षभित्र कार्यान्वयन गर्न सकिने योजनालाई समेटेर १३ बुँदे घोषणापत्र तयार गरिएको जानकारी दिए । घोषणापत्रमा कान्द्रा नदी कोरिडोर निर्माणदेखि स्रोत व्यवस्थापनसम्मका योजना समावेश छन् । कैलारी, भजनी र घोडाघोडी नगरपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, सुरक्षित बस्ती, रोजगारी र आधुनिक पूर्वाधारमार्फत दिगो विकास गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्य उल्लेख गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत विभिन्न वडामा पक्की पुल, सडक कालोपत्रे, ढल निकास, खेलमैदान र बसपार्क निर्माण गर्ने योजना राखिएको छ । शिक्षा क्षेत्रमा प्राविधिक तथा सिपमूलक शिक्षामा जोड दिँदै उच्च शिक्षामा पहुँच विस्तार र छात्रवृत्ति व्यवस्था गरिने उल्लेख छ। स्वास्थ्यतर्फ प्रत्येक पालिकामा १५ देखि २५ शय्याका सुविधा सम्पन्न अस्पताल स्थापना वा स्तरोन्नति, एम्बुलेन्स सेवा विस्तार, सिकलसेल रोगको निःशुल्क उपचार तथा पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रतिक्रिया