ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको सीप मेलामा तयार भयो विद्युतिय गाडी

आइतबार ०३, फागुन २०८२ १०:४८

धनगढी । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको प्रदेशस्तरीय सीप तथा रोजगार मेलामा सहभागी प्रशिक्षार्थिले विद्युतिय सवारी तयार गरेका छन् । माघ ५ गतेदेखि सुरु भएको मेलामा मेकानिकल तालिम सिक्न सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका प्रशिक्षार्थीले विद्युतिय गाडी तयार पारेका हुन् ।

छोटो समयमा प्रशिक्षार्थिले गाडी तयार गरेपछि धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले इभी गाडीको राम्रो सम्भावना रहेको बताए । ‘विद्युतको राम्रो सम्भावना भएको नेपालमा इभी सवारीको राम्रो बजार बन्दै गएको छ,’ नगर प्रमुख हमालले भने, ‘सीप तथा रोजगार मेलामा सहभागी प्रशिक्षार्थिले छोटो समयमा आफूलाई प्रमाणित गरेर देखाउँदा निकै खुसी लागेको छ । उहाँहरु आफ्नै ठाँउमा स्वरोजगार बन्ने अपेक्षा छ ।’

नेपालमा इभी गाडीको प्रयोगले पेट्रोलियम पदर्थबाट हुने व्यापार घाटा घटाउन मद्धत पुग्ने र युवाले स्वदेशमै रोजगारी पाउने अपेक्षा छ । इभी सवारीको राम्रो बजार सम्भावना रहेकाले सीप तथा रोजगार मेलामा इभी गाडी मर्मत तथा निर्माणको तालिम प्रदान गरिएको नगर प्रमुख हमालले बताए । नगर प्रमुख हमालले मेलालाई आगामी दिनमा थप व्यवस्थितत र एड्भान्स बनाउने प्रतिबद्धता जनाए । 

आगामी वर्ष सहभागी प्रशिक्षार्थिको मागअनुसार ग्रेड वृद्धि तालिम पनि सञ्चालन गर्न सकिने उनले बताए । ‘प्रचारका लागि मात्रै धनगढीले तालिम दिएको हैन,’ नगर प्रमुख हमालले भने, ‘साच्चिकै युवालाई स्वदेशमै रोजगार बनाउने, स्वरोजगार बनाउने उद्देश्यले हामीले सीप तथा रोजगार मेला सञ्चालन गरेका हौं, यसको परिणाम पनि देखिने छ । आगामी वर्षदेखि नयाँका लागि छुट्टै र एक पटक सहभागी भएका प्रशिक्षार्थिका लागि ग्रेड वृद्धि तालिम सञ्चालन गर्ने विषयमा छलफल गर्ने छौं ।’

प्रतिक्रिया