ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गोदाममा मल छ, किसानले पाएनन्

आइतबार १४, पुष २०८१ ०६:१३

धनगढी। कैलालीमा गहुँबालीमा हाल्नुपर्ने रासायनिक मलको अभाव देखिएको छ । गहुँ छर्ने बेला डीएपि मलको अभाव खेपेका किसानले अहिले सिँचाइपछि हाल्नुपर्ने युरिया मल पाएका छैनन् । सरकारले मागअनुसार आपूर्ति गर्न नसकेपछि मलको अभाव देखिएको हो ।

मलका लागि किसान स्थानीय सहकारी धाइरहेका छन् । सीमावर्ती क्षेत्रका कतिपय किसान भने भारतीय बजारबाट लुकिछिपी मल ल्याउन बाध्य छन् । कैलारी गाउँपालिकाको श्रमिक महिला कृषि सहकारीका अध्यक्ष सीता चौधरीले यतिबेला गहुँ सिँचाइ गर्ने समय भएकाले सहकारीमा मल माग्न आउने किसानको भीड हुने गरेको बताइन् ।

उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडबाट आवश्यकताअनुसार मल नपाएपछि किसानलाई मागअनुसार मल उपलब्ध गराउन सकिएको छैन । ‘दिनकै मल माग्न आउनेको भीड हुन्छ तर सहकारीमा थोरै मल आएकाले सबैलाई दिन सकेनौँ’ कृषकसमेत रहेकी उनले भनिन्, ‘सिँचाइ गरेपछि गहुँमा युरिया मल हाल्नुपर्ने बेला भएकाले युरियाको माग धेरै छ ।’

भजनी नगरपालिका–९, मा रहेका घोडताल कृषि सहकारीका अध्यक्ष मिहिलाल चौधरीले युरिया मल नपाएर किसानले समस्या खेप्नु परेको बताए । कृषि सामग्रीबाट लगेको दुई सय ३० बोरा मल अपुग भएकाले थप एक सय बोरा मल माग गरिएको उनले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीमा चार सय १२ वटा सहकारी तथा एग्रोभेटमार्फत् सरकारी अनुदानको मल किसानलाई बिक्री गर्ने गरेको छ । कृषि सामग्रीले मंसिरयता कैलालीमा करिब साढे दुई हजार मेट्रिकटन युरिया बिक्री गरेको छ । 

जिल्लामा मलको अभाव हुँदा कृषि सामग्रीको प्रादेशिक कार्यालयमा भने अहिले करिब ६ सय मेट्रिकटन मौजदात रहेको छ । कृषिको गोदाममा मल मौजदात भए पनि किसानले भने अहिले पनि मलको अभावले समस्यामा छन् । कृषि सामग्रीको प्रादेशिक कार्यालय प्रमुख नवलसिंह बोगटीले भने अभाव भएका ठाउँमा मल पठाउने कार्य भइरहेको दावी गरे ।

‘कतिपय ठाउँमा माग भएको छ, अपुग भएका ठाउँमा पठाइरहेका छौँ, किसानले एकै पटक नपाएका कारण पनि अभावजस्तो देखिएको हो’ उनले भने, ‘केन्द्रबाट पर्याप्त नआएकाले हामीले पनि मागअनुसार मल दिन सकेका छैनाँै ।’ अहिले भने अभाव कम भइरहेको बोगटीको दावी छ ।

तथ्यांकअनुसार कैलालीमा करिब ३५ हजार हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । यस वर्ष यहाँ गहुँ छर्ने बेला पनि डिएपी मलको अभाव भएको थियो । 

प्रतिक्रिया