धनगढी । नेकपा एमाले सुदूरपश्चिमका पूर्व अध्यक्ष तथा पूर्व सह–इञ्चार्ज हुन्, कर्ण थापा । कुनै समय केपी शर्मा ओलीका भित्रिया मानिन्थे उनी । ओली शक्तिको उदयदेखि नै उनको वरिपरि रहने सीमित नेता मध्येको अवसर पाएका थापाले ओलीसँग ससुराको नाता पनि जोडेका थिए ।
तर केहि समययता भने अध्यक्ष ओली र थापाको सम्बन्ध सुमधुर छैन । ओलीले थापालाई सुशील कोइराला प्रधानमन्त्री हुँदा ०७० सालमा उद्योगमन्त्री दिए । । तर, धेरै टिकेनन्, टिक्न दिइएन । तर मन्त्री पदबाट निकालिँदा पनि थापाले ओलीको काँध छाडेनन् । शक्तिमा पुगिसकेपछि ओलीको राजनीतिक जीवनमा नेकपा कालमा भएका घटनाक्रमले ओलीको शक्ति तलमाथि हुन सक्थ्यो ।
पुष्पकमल दाहाल र माधवकुमार नेपालको ठूलो समूह ओलीको विपक्षमा गएर ओली घेरिने अवस्था हुुँदा ओलीलाई बलियो काँध थाप्ने मध्येमा थापा पनि एक थिए । थापा चट्टान झै ओलीका पक्षमा उभिए । त्यही भएर थापाले पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावल हुँदा प्रदेश अध्यक्ष र सहइञ्चार्जको जिम्मेवारी पनि पाएका थिए । यसको अर्थ उनले प्राप्त गरेका पद र प्रतिष्ठामा उनको राजनीतिक संघर्ष र योगदानको कुनै मूल्य छदै थिएन, अर्थात टपक्क टिपेर उनलाई पदहरु उपहार दिइएको थियो भन्ने अर्थ लगाउनु गलत बुझाइ मात्रै होइन, उनीमाथि अन्याय हुन्छ । उनी स्वमंको पनि एमाले राजनीतिमा संघर्षको इतिहास लामो छ ।
भीम रावल एमालेबाट किनाराकृत भएको अवस्थामा पनि जब सुदूरपश्चिमको इञ्चार्ज पूर्वमाओवादी लेखराज भट्टलाई दिइयो, तब थापामा असन्तोषको पारो छरपष्ट हुने अवस्थामा पुग्यो । प्रदेशकै राजनीतिमा पनि उनीमाथि निकै ठूलो घेराबन्दी पटकपटक देखियो । सुदूरपश्चिमको एमालेभित्र एकातिर कर्ण थापा अनि अर्कोतिर अरु सबै नेता भए झै पनि बारम्बार देखियो ।
‘प्रदेशको सहइञ्चार्ज र अध्यक्ष भइसकेका उनी इञ्चार्जको स्वभाविक हकदार भएको बताउँदै आएका थिए,’ एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘तर, इञ्चार्जको जिम्मेवारी भट्टले पाएपछि उनले बेखुसी दबाएर बस्न सकिरहेका थिएनन् ।’ त्यसअघि उनी चितवनमा भएको महाधिवेशनबाट पनि उनले अपेक्षित जिम्मेवारी पाएनन् । उनी सचिव चाहन्थे तर स्थायी कमिटी सदस्यमै सीमित बनाइयो ।
त्यसपछिका दिनहरुमा थापामा ओलीसँगको मोलाहिजा क्रमिक रुपमा धमिलिदै गयो । ओलीसँग टाढिदै गएका थापाले जब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘सक्रिय राजनीतिमा आउनुपर्छ र पार्टी अध्यक्ष बन्नु पर्छ’ भन्ने स्टेटमेन्ट सार्वजनिक गरे त्यसपछि ओलीको तिर थापातर्फ पनि सोझियो । अध्यक्ष ओलीमा थापासँगको रुष्टता सार्वजनिक हुने अवस्था बन्यो ।
अध्यक्ष ओलीले सार्वजनिक रुपमै पूर्वराष्ट्रपतिलाई ‘नउकास्न’ चेतावनी पनि दिए । अहिले एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासित गरेको छ । आफ्नो सम्पूर्ण जीवन एमालेकै मलजलमा बिताएका रावललाई जीवनको उत्तरार्द्धमा पार्टीबाट निकालिँदा कुनै समय रावलका कट्टर विरोधी रहेका थापाले भीम रावलप्रति सहानुभूति प्रकट हुनेगरि सामाजिक सञ्जालमार्फत कारबाही असन्तुष्टिको आगो ओकलिरहेका छन् ।
रावल र थापाबीचको कटुताका घटनाक्रम तथा श्रृखला लामै छ । ०७४ सालको निर्वाचनमा समानुपातिकबाट प्रदेशसभा सदस्य भएर मुख्यमन्त्री बन्ने दाउँमा थिए थापा । तर सांसद नै हुन पाएनन् । समानुपातिकतर्फको एक नम्बरमा नाम भएर पनि प्रदेश सांसद नै हुनबाट बञ्चित हुनुपर्दाको डिजाइनर रावल नै भएको थापाको आरोप थियो ।
०७७ फागुनमा धनगढीको चटकपुरमा रहेको पार्टीको प्रदेश कार्यालयमा झडप भयो । पार्टी कार्यालयमा सुदूरपश्चिम इञ्चार्जबाट रावलको नेम प्लेट हटाएर लेखराज भट्टको राखेपछि केपी ओली समूह र माधव नेपाल समूहबीच झडप भएको थियो । त्यसबेला फ्रन्ट लाइनमा थिए उनै कर्ण थापा । उनले भनेका थिए, ‘भीम रावल अनाधिकृत हुन् । उनीमा अलिकति पनि नैतिकता छ भने प्रचण्डतिरै जानुपर्छ । एमालेमा उनको केहि हक छैन ।’
त्यो तहको राजनीतिक बेमेल रहेका उनै रावल अहिले पार्टीबाट निष्कासित भएपछि थापा रावलमाथि कारबाहीको विपक्षमा प्रस्तुत भइरहेका देखिएका छन् । आसन्न केन्द्रिय कमिटी बैठकमा उनी कुन रुपमा प्रस्तुत होलान् ? त्यो उत्तर गर्भमै छ । तर यतिबेला भने रावलमाथिको कारबाही अशल नियतका साथ नभएको उनको प्रतिक्रिया छ । असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल बनाउने व्यवहारले संसारै बदल्ने कुरा गर्दा अपत्यारिलो हुन्छ भन्दै धारणा सार्वजनिक गरिरहेका छन् । ‘ठण्डा दिमागले सोचौँ । देश आवेग, उत्तेजना, निराशा र असन्तुष्टि वा विरोधले बन्दैन है,’ उनले सामाजिक लेखेका छन् ‘सबैका अनुभव र योग्यतालाई मिलाएर एक लयमा काम गर्दा मात्रै सही परिणाम निकाल्न सकिन्छ । सही ढंगले सोचौँ, त्यही अनुसार कदम चालौँ । नकारात्मक काममा एक सेकेन्ड समय पनि खेर नफालौँ ।’
थापाका प्रतिक्रियाहरु यत्तिमै सीमित छैनन् । ‘धृतराष्टको पुत्रमोह र दुर्याेधनको सत्तामोह जगाउन र त्यसलाई उपयोग गर्न सकुनीले आफ्नो सबै ज्ञान, अनुभव र समय लगाएर महाभारत युद्व भयो । लाखौंको रगत बग्यो र करोडौको धनराशी सकियो । नेपालको कम्युनिस्ट आन्दोलनमा कतै नियोजित रुपमा तयार पारिएका सकुनीहरु त प्रभावशाली भइरहेका छैनन ? गम्भीर प्रश्न हाम्रो सामु उपस्थित छ,’ उनले भनेका छन् ।
थापाले ओलीको वरिपरि भएकाहरुको भूमिकामाथि सांकेतिक रुपमा गम्भिर प्रश्न उठाएका छन् । तर लेखराजको एक नम्बरीलाई स्वीकार गर्न नसकेका थापा भीम रावलको बहिष्करण हुुँदा चित्त दुखाइमा छन् त ? वा भीम रावललाई एमालेबाट निष्काशन गरिएकोमा आक्रोसित रहेका रावलका एमाले समर्थकहरुको सहानुभूति आफूतर्फ आकर्षित गर्न थापाले चर्का टिप्पणीहरु सार्वजनिक गरिरहेका हुन् ? यस यक्ष प्रश्नको उत्तर चै थापा स्वमसँग मात्रै होला ।
रावलसँग वार्ता गर्न बिष्णु पौडेल संयोजकत्वको समितिमा थापा पनि सदस्य थिए । त्यस बीचमा भएका गतिविधिहरुको सविस्तार चर्चा उनले गरेकै छैनन् । अर्थात उनी एकप्रकारले चुप थिए । तर यतिबेला भने थापा उकुसमुकुमा रहेको भने लुकेको छैन । तर पनि थापा आफू भीम रावलसहितको एमाले र मिलापको पक्षपाती रहेको दावी गर्छन् । ‘म त पहिलेदेखि रावललाई मिलाउने पक्षमा उभिएको थिए,’ थापा भन्छन्, ‘अहिले पनि मिलाउने र्नै प्रयास गरिरहेको छु । म पनि छिट्टै आफ्ना धारणा राख्छु ।’
प्रतिक्रिया