ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

समन्वय समिति कैलालीमा काँग्रेस–एमालेबीच तालमेल

सोमबार ०३, मङि्सर २०८१ ११:०३

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा दुईजनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डगौरा थारुको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ ।

समन्वय समिति प्रमुखको निर्वाचनमा काँग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । दुई दलको सहमतिअनुसार काँग्रेस उम्मेदवार भुलले एमालेबाट विजयी धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाको प्रस्ताव र काँग्रेसबाट निर्वाचित कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट र एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई दलका साझा उम्मेदवारको पक्षमा मतदान गर्न निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दल र जनप्रतिनिधिलाई आग्रह गरेका छन् । उपनिर्वाचनमा हुन लागेका सुदूरपश्चिमका अन्य ठाउँमा भने एमाले र काँग्रेस एक्लाएक्लै चुनाव लडेका छन् ।     

एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले कैलालीबाहेक अरु ठाउँमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा रहेको बताए । समन्वय समितिमा भने एमाले एक्लै विजयी हुने अवस्था नरहेकाले काँग्रेसलाई समर्थन गरिएको उनले बताए । 

समन्वय समितिमा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टी पनि केन्द्र र प्रदेशमा सत्ता गठबन्धनमै छ । यहाँ माओवादीले भने प्रमुखमा उम्मेदवारी दिएको छैन ।

काँग्रेस–एमालेका उम्मेदवार भुल गत स्थानीय निर्वाचनमा कैलारी गाउँपालिका–२, बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन । नागरिक उन्मुक्तिका उम्मेदवार थारु टीकापुर नगरपालिका–४, बाट निर्वाचित कार्यपालिका सदस्य हुन् । डगौराको प्रस्तावकमा नागरिक उन्मुक्तिबाट निर्वाचित जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरिया र समर्थकमा भजनी नगरपालिकाको उपप्रमुख राजु तिरुवा रहेका छन् ।

समन्वय समितिको प्रमुखमा निर्वाचित हुन काँग्रेस–एमालेको बहुमत पुग्छ । १३ वटा पालिका रहेको कैलालीमा प्रमुख र उपप्रमुख गरी २५ मतदाता छन् । काँग्रेसका ८, नागरिक उन्मुक्तिको सात, एमालेको पाँच, माओवादीको तीन, एकीकृत समाजवादीको एक मत छ । एक जना स्वतन्त्रबाट निर्वाचित छन् । टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा रहेकोले मतदानमा सहभागी हुन पाउने छैनन् ।

काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख पदमबहादुर कलेलको २३ पुस २०७९ मा निधन भएको थियो । उपप्रमुख माओवादीका खगराज भुसाल छन् । प्रमुखमा उम्मेदवारी नदिएको माओवादी र एकीकृत समाजवादीले कुन उम्मेदवारलाई सघाउने भन्ने निर्णय गरिसकेका छैनन् । नागरिक उन्मुक्तिबाट प्रमुखमा उम्मेदवारी दिएकी थारुले चुनावमा सहयोगका लागि माओवादी र एकीकृत समाजवादीसँग छलफल भइरहेको बताएकी छन् ।

स्वामीकार्तिकको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी

बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले जानकारी दिए । नेपाली काँग्रेसका पुतलीसरा शाही, नेकपा एमालेका सुलोचना भण्डारी, नेकपा माओवादी केन्द्रका राजुकुमारी बुढा, नेकपा एकीकृत समाजवादीका जवा शाही र राप्रपाका सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेले अघिल्लो पराजित भण्डारीलाई उम्मेदवार बनाएको हो ।

उपाध्यक्ष मैना जोशीको गत माघमा क्यान्सरका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । जोशी काँग्रेसबाट निर्वाचित भएकी थिइन् । जोशी एक हजार ८१० मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी एमालेका सुलोचनाकुमारी भण्डारीले एक हजार ६३७ मत ल्याएकी थिइन् । पालिका अध्यक्ष पनि काँग्रेसले नै जितेको थियो । 

एक वडाध्यक्षमा १२ जना प्रतिस्पर्धी

सुदूरपश्चिममा एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार छ पदका लागि ३० जनाको उम्मेदवारी परेको छ । चारजना वडाध्यक्षका लागि २३ जनाको उम्मेदवारी परेको छ । दार्चुलाको दुहु गाउँपालिका–५, को वडाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट धनसिंह कुँवर, एमालेबाट मानसिंह बडाल, माओवादीबाट बीरसिंह कार्कीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै लालबहादुर कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको गत वर्ष निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६, को वडाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । काँग्रेसबाट मोहन थापा, एमालेबाट देवबहादुर थापा, माओवादी केन्द्रबाट डिबीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी खड्का कुँवरको उम्मेदवारी दिएका हुन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको दुई वर्षअघि निधन भएको थियो ।

बझाङको सुर्मा गाउँपालिका–४, को वडाध्यक्षमा काँग्रेसबाट धीरेन्द्र पुजारा, माओवादी केन्द्रबाट पुष्करबहादु बोहरा र नेकपा एमालेबाट लक्षीचन्द्र बोहराको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सर्जन बोहराको गत वर्ष जेठमा मृत्यु भएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६, को वडाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसका प्रकाश चन्द, एमालेका बहादुर चन्द, माओवादीका नानाराम कोली, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, जनता पार्टीबाट यादवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट र नागरिक उन्मुक्ति पार्टीबाट हरिश डगौराको उम्मेदवारी परेको हो ।

त्यस्तै राप्रपाबाट दुई जना शुसीलकुमार भट्ट र दिलबहादुर धामी तथा थानेश्वर लेखक र युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । भीमदत्त– ६, का वडाध्यक्ष महेन्द्र खड्काको एक वर्षअघि निधन भएको थियो । उनी काँग्रेसबाट निर्वाचित भएका थिए ।
 

प्रतिक्रिया