धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सडक गुरुयोजना तयार पारेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक सय ६६ वटा सडकको गुरुयोजना तयार गरेको हो । ती सडकको लम्बाई चार हजार ९८४ किलोमिटर रहेको छ ।
सबैभन्दा धेरै अछाममा ७७२ किलोमिटर लम्बाइका १९ वटा सडको गुरुयोजना तयार छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बैतडीमा ७१२ किलोमिटर बराबरका २६, बझाङमा ६४८ किलोमिटरका १९, डोटीमा ६१७ किलोमिटरका १५, कैलाली ५५६ किलोमिटरका २३, बाजुरामा ४८९ किलोमिटरका २०, डडेल्धुरामा ४७९ किलोमिटरका १३, दार्चुलामा ४४२ किलोमिटरका १७ र कञ्चनपुरमा २७९ किलोमिटरका १४ सडक योजना छनोट गरी गुरुयोजना बनाइएको छ ।
ती सडकलाई पाँचदेखि १० वर्षमा प्राथमिकताका आधारमा निर्माण गरिसक्नुपर्ने योजना रहेको यातायात पूर्वाधार निर्देशनालयले बिहीबार धनगढीमा कार्यशाला गोष्ठी गर्दै जानकारी दिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्यलगायतका सरोकारवाला पक्षको सहभागितामा भएको गोष्ठीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा परेका सडकको विवरण सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले सबैसँगको परामर्श र सुझावका आधारमा गुरुयोजनालाई अन्तिम रूप दिइने जानकारी दिए ।
प्रतिक्रिया