ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

देउवालाई नेपालको प्रश्न - डडेल्धुरामा विमानस्थल कमिसन खानलाई चाहियो ?

बिहिबार २५, पुष २०८१ ०३:१५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले डडेल्धुरामा विमानस्थल किन चाहियो भनेर पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले देउवामाथि कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका हुन् । 

नेपालले कमिसन खान पाइन्छ भनेर नचल्ने ठाउँमा पनि विमानस्थल निर्माण भइरहेको बताए । उनले छिमेकी जिल्लाहरू बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए । उनले उदयपुर र डडेल्धुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गर्दै विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवारी निर्णय गर्नेहरूले लिनुपर्ने बताए ।

‘जिल्लाको नाम भन्यो फेरि थाहा होला अरु कसैलाई, सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ?,’ उनले अगाडि थपे, ‘त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनुपर्‍यो ? भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ ।’

 

प्रतिक्रिया