पाल्पा । मगर भाषाको पढाइ प्रवाहसम्बन्धी शिक्षकहरुका लागि आयोजित तालिम तानसेन नगरपालिका–९, तिनतिआँपमा बुधबार सम्पन्न भएको छ । नेपाल मगर संघ माथागढी गाउँ कार्यसमिती पाल्पाको आयोजना तथा हिमाली आदिवासी समाज नेपालको सहयोगमा भएको तालिम तीन दिनसम्म सञ्चालन भएको थियो ।
नेपाल मगर संघ माथागढीका अध्यक्ष भेगराज थापामगरको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथी माथागढी गाउँपालिका–३, का वडाध्यक्ष तेजबहादुर घर्तिमगर रहेका थिए । सो अवसरमा वडाध्यक्ष घर्तिमगरले मगर समुदायको बासोबास देशका ७७ वटै जिल्लामा रहेको बताए । जसमा पाल्पा जिल्लामा मगर समुदायको प्रमुख बासोबास रहेको बताउँदै उनले भाषा, संस्कृति र पहिचानको दृष्टिकोणले मगर समुदाय धनी रहेको बताए ।
‘तर पछिल्लो समय मगर समुदायको संस्कृति र संस्कारहरुमा पुस्तान्तरणको अभाव देखिएको छ । यस्तो परिस्थितिमा भाषालाई अझ ब्यवस्थित गरी लिपिवद्ध गराउँदै पुस्ता पुस्तान्तरण गराउन आवश्यक छ’ उनले भने ।
कार्यक्रमका बिशिष्ट अतिथी हिमाली आदिवासी समाज नेपालका कार्यक्रम संयोजक टेसी टेमा भोटेले पढाइ प्रवाह परियोजनाअन्तर्गत पाल्पाको माथागढी गाउँपालिकामा बासोबास गर्ने मगर समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताए । यसले मगर भाषा जगेर्नाका साथै मातृभाषा निरन्तर पढ्न र लेख्न प्रेरित गराउने विश्वास उनले व्यक्त गरे ।
तालिममा १ महिने मगर भाषा सरासर पढ्ने, लेख्ने कक्षा संचालन हुने माथागढी गाउँपालिकाका १४ वटा गाउँ÷टोलका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । उक्त तालिमको सहजिकरण हिमाली आदिवासी समाज नेपालका टेसी डेमा भोटे र टिआर कठरियाले गरेका थिए ।
प्रतिक्रिया