धनगढी । दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानका रुख–बिरुवा हटाउने सम्झौता भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टर मोडलयातायात विकास समितिबीच सो सम्झौता भएको हो । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणको लागि २०७८ मा डिपिआर बनिसकेको छ । तर जग्गा प्राप्ति नभएकोले योजना अगाडि बढ्न सकेको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा सुख्खा बन्दरगाहको संरचना निर्माणका लागि जग्गा प्रयोग सम्बन्धी सम्झौता बुधबार गरिएको छ । यसका लागि नेपाल सरकारले मन्त्रिपरिषद् बैठकले २ असोज २०८१ मा स्वीकृति दिएको थियो । सो निर्णय कार्यान्वयन गर्न विभाग र समितिबीच सम्झौता भएको समितिले जनाएको छ ।
सम्झौतासँगै राष्ट्रिय निकुञ्ज कार्यालयले संरचना निर्माण स्थलमा भएको रुखको मूल्यांकन गरी विभागमा पठाउनेछ । विभागबाट प्रमाणित भएपछि निकुञ्ज कार्यालयले रुख कटान आदेश उपलब्ध गराउने छ । आदेशपाएसँगै समितिले आफ्नै खर्चमा रुख कटान तथा मुछानको काम गर्ने जनाएको छ । आयोजनाले काट्ने रुखका लागि सो क्षेत्र बराबरको जमिन उपलब्ध गराउन नसकेका कारण सट्टा भर्नाबापत विभागलाई १४ करोड ८२ लाख रुपैयाँ दिएको छ ।
रुख कटान आदेश कुरिरहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार आदेश आएपछि रुख कटान प्रक्रिया सुरु हुन्छ । यो बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ । आयोजनाको कुललागत ५ अर्ब ७६ करोड रुपैयाँ छ ।
यसको संरचना निर्माणका लागि भारतीय पक्षबाट कम्पनी छनोट गर्न टेन्डर तयारी गरिसकेको समितिले जनाएको छ । रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित हुने जानकारी भारतीय पक्षले गराएको समितिले जनाएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक पूर्वाधार सहित बन्दरगाह निर्माण गरिने समितिले जनाएको छ । आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी खाद्य प्रयोग शाखा (क्वारेन्टिन), प्रशासनिक भवनलगायत संरचना बनाइने छ ।
सरकारले पछिल्लो समय भारत र चीनसँग जोडिएका सीमा नाकामा सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माणलाई गति दिएको छ ।
प्रतिक्रिया