ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
लागेका थिए रावलको अभियानमा

अछाम एमालेले छ जनाको जिम्मेबारी खोस्यो

बिहिबार १०, माघ २०८१ १०:२०

धनगढी । डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले छ जनालाई जिम्मेबारीबाट हटाएको छ । जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ती जारी गर्दै पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै छ जनालाई जिम्मेबारीबाट हटाएको जानकारी दिएका छन् । 

जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुवँरलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तीमार्फत जानकारी दिइएको छ । रावलको मातृभूमि जागरण अभियानमा अछामका एक हजार ८६ जना लाग्दा आठ जनाले नेतृत्वदायी भूमिका खेलेका थिए । 

‘मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका श्रद्धेय अध्यक्षका विरुद्ध अलोकतान्त्रीक र अशोभनिय नारावाजी गरिएको तथा पार्टी विरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रष्टै देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसअघि पनि केही जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुबाट पार्टी हितविपरीत गतिविधि गरेको भनि सोधिएको स्पष्टिकरणको जवाफमा निजहरुले आगामी दिनमा पार्टीप्रति पूर्ण प्रतिवद्ध रहने लिखित आत्मालोचना सहितको स्पष्टिकरण पेश गर्नुभएकोले कात्तिक २६ गते बसेको नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय बैठकबाट एकपटकका लागि कारबाहीको प्रक्रिया अगाडि नबढाउने निर्णय भएको भएता पनि एमालेको विधानको धारा ८० को उपधारा १ , २ ,३,४, ५ ,१२ दर १३ विपरीत गतिविधि गरेकाले पदीय जिम्मेवारीबाट हटाइएको छ ।’

प्रतिक्रिया