अछाम । भारतमा भएको रेल दुर्घटनामा सुदूरपश्चिमका पाँच जनाको मृत्यु भएको छ । अछामका चार र कैलालीका एक गरी पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । जयकला उपचारका लागि भारत गइरहेकी थिइन् । नन्दाराम उनका माइतीतिरका नातेदार हुन् ।
बुधबार भएको रेल दुर्घटनामा परी कमलाको मृत्यु भएको उनका भतिजा दीपेन्द्र भण्डारीले पुष्टि गरे । दीपेन्द्रका अनुसार कमलासंगै उनकी बुहारी राधा पनि थिइन् । उनीहरु सोमबार लखनउबाट मुम्बैका लागि रेलमा गएका थिए । मोहन्याल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर शाहीका अनुसार रेल्बे कम्पनीले कमलाको शव नेपाल पठाइदिने खबर प्राप्त भएको छ ।
बुधबार महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको मृत्यु भएको थियो । रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर उनीहरुको ज्यान गएको थियो ।
प्रतिक्रिया