धनगढी । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीत उपाधि भिडन्त हुने भएको छ । सुपर फोरको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेश बागमतीलाई ३० रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।
११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । उसका लागि यसोदा बिष्टले ३० तथा हेलिसा गुरुङले २३ रन बनाइन् । सुदूरपश्चिमका कविता कुँवर र करिस्मा थापाले २/२ तथा आषिका महरा र रितु कनौजियाले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर फाप्ला मैदानमा ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि रितु कनौजियाले ३४, मनिषा बोहराले १६ र कविता कुँवरले १३ रन बनाए । बागमतीका मनिषा उपाध्याय र सोनु खड्काले ३/३ तथा विपिशा शाहीले १ विकेट लिए ।
यसअघि नै सुपर फोरमा अपराजित रहेको एपीएफ चार अंकसहित फाइनल पुगेको थियो । एक खेलमा जित र एकमा पराजित भएको सुदूरपश्चिम दुई अंकसहित उपाधि नजिक पुगेको हो । समान दुई अंक नै भएका बागमती र विभागीय टोली त्रिभुवन आर्मी क्लब भने रनरेट कमजोर हुँदा फाइनल पुग्न सकेनन् । फाइनल खेल शनिबार फाप्ला मैदानमा हुने छ ।
प्रतिक्रिया