धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका दुई किशोरीको उनकै प्रेमीले हत्या गरेको खुलेको छ । १२ माघमा जंगलमा मृत भेटिएका ढकारी गाउँपालिका-८ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो ।
अछाम प्रहरीका अनुसार सरस्वतीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको हो भने इशराको उक्त घटना ढाकछोप गर्न हत्या भएको हो । शनिबार बिहान पत्रकार सम्मेलन गरी अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले इशरा र सरस्वतीको ढकारी गाउँपालिका- ३ का दुई जना किशोरले हत्या गरेको जानकारी दिए । आरोपित दुबै नाबालक हुन् । उनका अनुसार पक्राउ परेका दुवै जनामाथि ज्यान मार्ने कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार ११ माघमा आरोपित दुई किशोर गोठालो गएका दुबै किशोरीलाई भेट्न पुगेका थिए । उनीहरुले किशोरीहरुसँग मायाको चिनो मागेका थिए । दोपट्टा र इएरफोन चिनो माग्दा नपाएपछि दोपट्टा खोसाखोस हुन गई उनीहरुका बिचमा विवाद भएको डीएसपी भण्डारीले बताए । `सोही क्रममा इशरा बाख्रा फर्काउन जंगलतिर जान्छिन्,´ डीएसपी भण्डारीले भने, `सरस्वतीलाई उनका प्रेमीले यौन प्रस्ताव राख्छन् । सरस्वतीले बिहे गर्ने भए मात्र प्रस्ताव स्वीकार्ने कुरा गरेपछि ती किशोरले आफ्नो उमरे नपुगेको भन्दै ५/६ वर्षपछि बिहे गर्ने कुरा गरेका थिए । उनको यौन प्रस्ताव अस्वीकार गरेकी सरस्वतीलाई खोलातिर फर्किएको अवस्थामा यौन सम्पर्क गर्न नदिएको झोकमा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको छ ।´
सरस्वतीलाई मृत देखेपछि इशराले परिवालाई भनिदिने बताएकी थिइन । घटना ढाकछोप गर्न इशराको पनि ढुङ्गा प्रहारबाटै हत्या गरिएको डीएसपी भण्डारीले बताए ।
प्रतिक्रिया