धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले पहिलो जित दर्ता गरेको छ । आइतबार फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो ।
एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी १६.५ ओभरमा सवै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दीपक टमाट्टाले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका ललीत राजवंशीले तीन विकेट लिए । उनी खेलका म्यान अफ द म्याच पनि भए । धनगढीका मिलन बोहोरा र राहु भण्डारीले दुई’ दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो । उसका लागि राजु रिजालले २७ बलमा ३७ रन जोडे । यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले तीन तथा नरेन साउँदले दुई विकेट लिए । धनगढी एक खेलमा पराजित भइसकेको छ भने घोडाघोडीको यो पहिलो खेल हो ।
यसअघि आइतबार नै भएको दिनको पहिलो खेलमा सिवाइसी अत्तरियाले दशरथ चन्द एकेडेमीलाई पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा सिवाइसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघको क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया