ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली फुटबल संघबाट रेफ्रीले पारिश्रमिक पाएनन्, तालाबन्दी गर्ने चेतावनी

बिहिबार १७, पुष २०८२ ०८:००

धनगढी । कैलाली जिल्ला फुटबल संघका रेफ्रीहरुले संघबाट पाउनुपर्ने पारिश्रमिक चार वर्षदेखि नपाएको गुनासो गरेका छन् ।

उनीहरुले विभिन्न फुटबल प्रतियोगिता खेलाएबापतको २०७८ सालदेखिको पारिश्रमिक दिन लिखित रुपमा माग गर्दा पनि संघले बेवास्ता गरेको धनगढीमा पत्रकार सम्मेलन गरेर गुनासो गरेका हुन् । रेफ्री दिपेन्द्र खड्काले ११ जना रेफ्रीको चार वटा टुनामेन्ट गराएबापतको पारिश्रमिक नपाएको बताए ।

उनका अनुसार कैलाली जिल्ला फुटबल संघले २०७८ पुसमा आयोजना गरेको जिल्ला फुटबल लिगमा खेलाएबापत आठ जना रेफ्रीको ४५ हजार, २०८० माघमा अरनिको सैनिक कप खेलाएबापत तीन जना रेफ्रीको २९ हजार, २०८० पुसमा फारवेष्ट पशुपति कप खेलाएबापत पाँच जनाको ५७ हजार छ सय र २०८० मै मोहन स्मृति गुरुङ आठौं लालझाडी कप खेलाएबापत एक जना रेफ्रीको १० हजार रुपैयाँ पारिश्रमिक पाउन बाँकी छ ।

रेफ्री खड्काले आयोजना अन्य संस्थाले गरे पनि कैलाली जिल्ला फुटबल संघले रेफ्री खटाउने र रेफ्रीको पारिश्रमिक संघको खातामा आयोजकले पठाउने र संघले वितरण गर्ने गरी सम्झौता भएको बताए । उनले संघको खातामा रेफ्रीको पारिश्रमिक पठाइसकेको जनाएपनि संघले वितरण नगरेको बताए ।

मेहनतको मूल्य नपाउँदा पेशागत सम्मानमा चोट पुगेको भन्दै रेफ्रीहरुले अझै पनि पारिश्रमिक नदिए कैलाली जिल्ला फुटबल संघको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया