डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी-५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालेका हुन् ।
कन्य च्याउ उत्पादन गर्दै आएका उनले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउको पनि खेती गरेका छन् । शाहीले यसपटक दुई सय पोका च्याउ राखेका छन् । उनले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएर मङ्सिर ३० गते च्याउ राखेको बताए । 'प्रतिकिलो ५० रुपैयाँका दरले २० टन कम्पोस्ट खरिद गरेको हुँ, च्याउको बीउ धनगढीबाट ल्याएँ । च्याउ उत्पादन सुरु हुञ्जेलसम्म दुई लाख लागत लागेको छ', उनले भने ।
गोब्रे च्याउ खेती गर्न अन्य च्याउको भन्दा अलि बढी मेहनत लाग्ने शाहीले बताए । कृषि जेटीएको पढाइ गरेका उनले गोब्रे च्याउ खेतीमा अलि बढी प्राविधिक ज्ञान चाहिने र यो च्याउ खेतीका लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस सबैभन्दा उपयुक्त हुने बताए । 'आजभोलि दैनिक चारदेखि पाँच किलो च्याउ बिक्री भइरहेको र बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने तयारी गरेको छु', उनले भने ।
गोब्रे च्याउको मूल्य अहिले प्रतिकिलो चार सय छ । गोब्रे च्याउको खेतीका लागि ज्ञान केन्द्रले किसान शाहीलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ । गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउ व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । रासस
प्रतिक्रिया