ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

काँग्रेस नेता कलौनीको पोस्टमार्टम रिपोर्टः मुटुमा ‘अक्लुजन’

बिहिबार २४, माघ २०८१ ०१:२१

धनगढी । कञ्चनपुरमा मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटनामा अनुसन्धान गरिरहेको प्रहरीले थप परीक्षण गर्ने भएको छ । भेरी प्रादेशिक अस्पतालको विज्ञ टोलीले गरेको पोष्टमार्टम रिपोर्टबाट मृत्युको ठोस कारण पत्ता नलागेपछि नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु परीक्षण गरिने भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोटपटक देखाएको छैन । ‘मुटुमा अक्लुजन भएको भनिएको छ,’ डीएसपी जोशीले भने, ‘सोही कारण थप परीक्षणका लागि ाष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु पठाएका छौं ।’

चिकित्सकहरुका अनुसार मुटुमा अक्लुजन भनेको अवरोध हुनु हो । कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडक पेटीमा मृत फेला परेका थिए । त्यसको दोस्रो दिन भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । 

यस्तै जिल्ला प्रहरी कार्यालयका डीएसपी जोशीका अनुसार कलौनीले प्रयोग गर्दै आएको मोबाइल भने अझैसम्म भेटिएको छैन । ‘एन्ड्रोइड मोबाइल मृतकको साथमा फेला परेको थियो,’ डीएसपी जोशीले भने, ‘अर्को किप्याड मोबाइल भने अहिलेसम्म पनि भेटिएको छैन । वालेट पनि खल्तीबाट निकालेर शवको केही पर राखिएको थियो ।’ नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।

प्रतिक्रिया