ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अर्जुन ट्रफी: डडेल्धुरा र अत्तरियाबीच उपाधि भिडन्त

आइतबार २७, माघ २०८१ ०४:२३

धनगढी । डीसीए धनगढीलाई पराजित गर्दै सिवाइसी अत्तरिया कैलालीमा जारी अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा धनगढीलाई अत्तरियाले छ विकेटले पराजित गरेको हो । योसँगै अत्तरियाले उपाधिका लागि फ्रेन्ड्स क्लब डडेलधुरासँग प्रतिस्पर्धा गर्ने छ । 

आइतबार भएको दोस्रो सेमिफाइनलमा धनगढीले दिएको एक सय नौ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । अत्तरियालाई उपाधि नजिक पुगाउन शंकर रानाले ५६ रनको अविजित पारी खेले । उनी खेलको म्यान अफ द म्याच भए । यस्तै, दीपेश् कडेलले २४ र भीम सार्कीले १६ रन बनाए । धनगढीका हिक्मत महराले दुई तथा ललित राजवंशी र भोजराज भट्टले एक–एक विकेट लिए । 

त्यसअघि धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय आठ रन बनायो । उसका लागि मिलन बोहराले २८, अविशेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५ तथा राजु भण्डारीले १३ रन बनाए । अत्तरियाका कमल गुप्ता र विवेक यादवले दुई–दुई तथा राशिद खान, दिपेश कडेल र सहाव आलमले एक–एक विकेट लिए । फाइनल खेल सोमबार हुने छ । 

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।
 

प्रतिक्रिया