धनगढी । सोमबार कैलालीको लम्कीचुहा नगरपालिकामा दुईवटा बेग्लाबेग्लै कार्यक्रम भए । एउटा कार्यक्रम नगरपालिकाको प्रशासनीक भवन उद्घाटन थियो भने अर्को नेपाली काँग्रेस क्षेत्र नम्बर २ को विपी स्मृति भवन उद्घाटनको थियो ।
ती दुबै कार्यक्रममा परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि थिइन् । लम्कीमा मन्त्री राणालाई स्वागत गर्न पोलपोलमा तस्बिरसहितको पोस्टर राखिएको थियो । पोलपोलमा झुुण्ड्याइएका स्वागत ब्यानरहरुमा ‘परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य श्रद्धेय नेता माननीय डा. आरजु राणा देउवाज्यूलाई लम्कीचुहा नगरपालिकामा हार्दिक स्वागत गर्दछौं,’ लेखिएको थियो । ब्यानरमा मन्त्री राणासंगै लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको फोटो पनि छापिएको थियो ।
स्थानीय कांग्रेस कार्यकर्ताहरुका अनुसार भवन उद्घाटनका लागि मन्त्री राणा लम्की पुग्दा झण्डै दुई सय जनप्रतिनिधि तथा नेपाली काँग्रेसका नेता–कार्यकर्ता माला र खादा लगाएर स्वागतमा तल्लिन थिए । मन्त्री देउवालाई मालाले थेग्न सकिरहेको थिएन । उनी क्रमस लाउँदै झिक्दै थिइन् । उनै मन्त्री देउवाको पछाडिपछाडि थिए, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह । तर मुख्यमन्त्री शाह भने मालाविहीन थिए । उनलाई माला लगाइदिने कोही थिएनन् । न त उनी माला पाउने व्यक्तिको प्राथमिकतामा थिए ।
लम्की शाहको गृह नगर पनि हो । उनलाई न जनप्रतिनिधिले स्वागत गरे, न त काँग्रेसका नेता–कार्यकर्ताले नै । ‘स्वागत गर्नु त दूरको कुरा हो आफ्नै नगरको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहलाई बोल्न पनि दिइएन,’ काँग्रेस लम्कीका एक नेताले भने, ‘काँग्रेसबाटै निर्वाचित मेयर हुँदा पनि मुख्यमन्त्रीको आफ्नै नगरमा अपमान गरियो ।’
नगरपालिकाको भवन उद्घाटनपछि मन्त्री देउवाकै प्रमुख आतिथ्यतामा विपी स्मृति भवनको उद्घाटन कार्यक्रम भयो । त्यहाँ पनि मुख्यमन्त्री शाहले बोल्नै दिइएन । उक्त भवन निर्माण समितिकी संयोजक पनि लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही हुन् । उनकै अध्यक्षतामा दुबै कार्यक्रम भएका हुन् । नगरपालिका र काँग्रेसको भवन उद्घाटनमा अनावरण गरिएको शिलापत्रमा परराष्ट्रमन्त्री राणासंगै मेयर शाहीको नाम पनि लेखिएको छ ।
यता, नगर प्रमुख शाहीले भने मुख्यमन्त्री शाहको अपमान गर्ने कुनै नियत नभएको बताइन् । ‘मैले नै नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीज्यूलाई बोल्न दिनुहोला भनेको थिए,’ नगर प्रमुख शाहीले भनिन्, ‘तर, कार्यक्रम सञ्चालक अन्योलमा परेपछि भाषणका लागि सिधै परराष्ट्रमन्त्रीज्यूलाई आग्रह गरिदिनु भयो । मुख्यमन्त्रीलाई अपमान गर्ने कुनै मनसाय होइन ।’ पोलपोलमा भने नेविसंघ र तरुण दलले परराष्ट्रमन्त्री आरजु र आफ्नो फोटो लगाइदिएको उनको भनाई थियो ।
यसअघि पनि लम्कीमा मुख्यमन्त्री शाहमाथि यस्तै ब्यवहार भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । मुख्यमन्त्री शाहले लम्कीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख लगायतका जनप्रतिनिधिले आफ्नो अपमान गरको आशय व्यक्त गरेका थिए । २५ कात्तिकमा नगरपालिकाकै आयोजनामा भएको खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाह पुगेका थिए । तर, उक्त कार्यक्रममा न नगरप्रमुख शाही थिइन् न त उपप्रमुख जुना चौधरी र प्रमुख प्रशासकीय अधिकृत नै थिए ।
‘आज यो मञ्चमा यो नगरपालिकाको नगर प्रमुख छैनन्,’ मुख्यमन्त्री शाहले त्यसबेला भनेका थिए, ‘उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । तपाईहरुले यस्तो कुरा बुझ्नुपर्छ । व्यक्ति सबैको सम्मान हुन्छ । हरेकले सम्मान चाहेको हुन्छ । यस्ता क्रियाकलापहरु आइन्दा नगर्नु होला । म निवेदन गर्न चाहन्छु ।’ उक्त कार्यक्रममा मुख्यमन्त्री शाह भाषण गरेर गएको १० मिनेटपछि भने मेयर शाही पुगेकी थिइन् ।
प्रतिक्रिया