ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा सुरु भयो रोजगार मेला, ३९ पालिकाबाट पुगे प्रशिक्षार्थी

बिहिबार ०८, फागुन २०८१ ०३:५२

धनगढी । कैलालीको धनगढीमा बिहीबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । 

मन्त्री भण्डारीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै यस्ता मेलाबाट त्यस्तो जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । ‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ,’ उनले भने, ‘अब दक्ष जनशक्ति उत्पादनसंगै रोजगार दिने कुरामा पनि जोड दिन आवश्यक छ । 

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार रोजगार मेलामा तालिम लिनका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएका थिए । ‘तीमध्ये ३९ पालिकाका एक हजार ४० जना छनोट भएका छन्,’ मेयर हमालले भने, सहभागी प्रशिक्षार्थीहरूलाई २९ विधामा तालिम दिइने छ ।’ मेयर हमालले यस्तो मेला हरेक वर्ष आयोजना गर्नुपर्ने बताउँदै संघीय सरकारले नै स्वामित्व लिए प्रभावकारी हुने बताए । 

‘यसपटक धनगढीमा रोजगार मेला भइरहेको छ,’ उनले भने, ‘संघीय सरकारले स्वामित्व लिए अर्कोपल्ट सुदूरपश्चिमका अन्य ठाउँमा आयोजना गर्न सकिन्छ । स्वरोजगारका लागि यस्ता मेला प्रभावकारी हुन्छन् ।’युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको मागअनुसार सीप सिकाई दक्ष बनाउने मेलाको उद्येश्य रहेको हमालले बताए । 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । ३० दिन विभिन्न विधामा सीपमुलक तालिम, पाँच दिनसम्म जीवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबीच अन्तक्रिया गरिने पाठकले जानकारी दिए । 

मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्तीबीच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा रोजगारको लागि अभ्यास पनि गराइने बताइएको छ ।

प्रतिक्रिया