ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
नौ अर्बको आयात हुँदा ५५ करोडको निर्यात

त्रिनगर नाकाको व्यापार घाटा साढे आठ अर्ब

शुक्रबार १६, फागुन २०८१ ०१:२१

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख त्रिनगर नाकाबाट नौ अर्बको सामान आयात हुँदा ५५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । कैलाली भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा नौ अर्ब एक करोड ९० लाख २६ हजार रुपैयाँको मुख्य २० किसिमका सामान मात्रै आयात भएको छ । यी सामाग्रीको आयातबाट तीन अर्ब ६७ करोड ८४ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी, सात महिनाको अवधिमा सो नाकाबाट ५५ करोड २९ लाख ९४ हजार रुपैयाँको १० किसिमका सामान निर्यात भएको छ । सोबाट ६८ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्रिनगर नाकाबाट मसला, तरकारी, इमली, खयर कत्था, पिना, चुन ढुंगा, टर्पेनटाइन तेल, रोजिन, प्लाईउड जस्ता सामाग्री निकासा हुने गरेको छ । त्रिनगर नाकाबाट निर्यात हुने पाँच बस्तुमा निकासी कर लाग्ने र पाँच बस्तुमा निकासी कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ ।

निर्यातमा कर छुट भए पनि निर्यात बढ्न सकेको छैन । आर्थिक वर्ष २०७९÷८० मा छ महिनामा ४५ करोड ९६ लाख २५ हजार ९६२ रुपैयाँको निर्यात भएकोमा गतआर्थिक वर्ष २०८०÷८१ को सोही अवधीमा २९ करोड २३ लाख ४३ हजार दुई सय रुपैयाँमा सामान निर्यात भएको थियो । कतिपय निर्यात हुने सामानमा निर्यात गर्ने कम्पनीले निर्यात प्रबद्र्धन गर्न सरकारबाट अनुदान प्राप्त गर्ने र भन्सार राजश्व छुट पाउने व्यवस्था रहेको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताए ।

त्रिनगर नाकाबाट सबैभन्दा बढी रकमको डिजेल आयात भएको छ । तीन अर्ब ९३ करोड ६५ लाख २८ हजार रुपैयाँको डिजल आयात हुँदा एक अर्ब ५४ करोड ३७ लाख ७३ हजार रुपैयाँको पेट्रोल आयात भएको छ । एक अर्ब पाँच करोड ५५ लाख ११ हजार रुपैयाँको एलपि ग्यास आयात भएको छ । 

चौथो ठूलो परिमाणमा आयात हुनेमा दालमोठ, पापड, साल्टेड, भुजिया र चमेना छ । ती सामाग्री ३६ करोड ७३ लाख १० हजार रुपैयाँको १२३ टन आयात भएको भन्सार कार्यालयले जनाएको छ । पेपर, पेपर बोर्ड, फिसिङ सेरामिक्स, आलु, फुड सप्लिमेन्ट, पापड, ग्रेनाइट, बेकरस वेयर, सावुन, ब्लांकेट एण्ड ट्राभेलिङ रग्स्, बिटुमिन, एभाइसन टवाइन फ्युल, टायर, सिसा, पास्ता, अण्डा, मकै लगायतका वस्तु मुख्य २० आयात हुनेमा पर्छन् ।

आर्थिक वर्ष २०७९÷८० को छ महिना आठ अर्ब सात करोड २० लाख ६७ हजार ५९७ रुपैयाँको आयात भएकोमा गतआर्थिक वर्षको सोही अवधीमा सात अर्ब सात करोड ७२ लाख ५२ हजार २२९ रुपैयाँको सो सामान आयत भएको थियो । गतवर्षको तुलनामा आयात घटेको भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए । उनले बजारमा माग घटेको कारणले आयात घटेको र निर्यात गर्ने सामान उत्पादन हुन नसकेको कारणले निर्यात घटेको बताए ।
 

प्रतिक्रिया