ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
कृषि निर्देशक भन्छन्ः भोकमरीकै अवस्था छैन

सुदूरपश्चिमका २७ प्रतिशत किसानलाई नै पुग्दैन खान

शुक्रबार १६, फागुन २०८१ ०५:१८

धनगढी । सुदूरपश्चिममा कृषि उत्पादन निरन्तर बढिरहेको छ । तर, खेती गर्ने किसानलाई नै वर्षभरी खान भने पुग्दैन । त्यस्ता किसान प्रदेशभर २७ प्रतिशत छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण २०८०÷०८१ का अनुसार प्रदेशका २०.१ प्रतिशत किसानलाई आफ्नो उत्पादनले तीनदेखि पाँच महिना र ७.२ प्रतिशत किसानलाई दुई महिनासम्म मात्रै खान पुग्छ । ती किसानले बाँकी महिना मजदुरी गरेर छाक टार्ने गरेका छन् ।

कृषि गणना २०७८ को प्रतिवेदनअनुसार चार लाख ५७ हजार ७५६ परिवार किसान छन् । एक लाख २४ हजार ९६७ परिवार किसानलाई आफ्नै उत्पादनले वर्षभरी खान पुग्दैन । ३२ हजार ९५८ परिवारलाई १० देखि १२ महिना आफ्नो उत्पादन अपुग हुने गरेको छ भने ९२ हजार नौ परिवार किसानलाई सातदेखि नौ महिना अपुग हुने गरेको छ । प्रतिवेदनमा ४०.१ प्रतिशत किसानलाई मात्रै घरायसी उपभोगका लागि पर्याप्त हुने गरेको छ । ‘प्रदेशका कृषकहरुलाई पुस, माघ, फागुन, चैत, साउन र भदौ महिनामा घरायसी उपभोगका लागि कृषि उत्पादनको अभाव हुने गरेको छ,’ आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले यो तथ्यांकमा शतप्रतिशत सत्यता नहरको दाबी गरे । उनले किसानलाई अन्न अभाव हुने गरेको सत्य भए पनि कृषि उत्पादनले खान नै नपुग्ने अवस्था नरहेको बताए । उनले कृषि गणनाले गर्दा स्याम्पल सर्वेक्षण गरिएको हुँदा ६०–७० प्रतिशतसम्म सत्यता रहेको बताए । ‘हिमाली जिल्लामा सिंचाइको अभाव, युवा जनशक्ति पलायन, मौसमी विपद्को कारणले उत्पादन हुन सक्दैन,’ निर्देशक शर्माले भने, ‘तर, भोकमरीकै अवस्था छैन । अन्न नहुने भएपछि कसैले फलफूल लगाएका छन् । कसैले पशुपञ्छी पालेका छन् । आफ्नो अन्य कृषि उत्पादन बेचेर अन्न किनेर खान सक्ने अवस्था छ । कतिपयले बाहिर गएर कमाएर ल्याएको पैसाले किनेर खान्छन् ।’

कुल किसान मध्ये ८८.९ प्रतिशत किसानले घरायसी खपतका लागि मात्रै खेती गर्ने गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । १८.३ प्रतिशत किसानले घरायसी खपत र बिक्री गर्ने उद्देश्य राखी खेती गर्ने गरेका छन् भने ०.९ प्रतिशत किसानले मात्रै बिक्री गर्ने उद्देश्यले खेती गर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकको वार्षिक आर्थिक गतिविधि उत्पादन २०८०÷०८१ का अनुसार सुदूरपश्चिममा प्रमुख कृषिबालीको उत्पादन २.८५ प्रतिशतले बृद्धि भएको छ । २०७९÷०८० मा सो बालीको उत्पादन ९.९७ प्रतिशतले बृद्धि भएको थियो । गतआर्थिक वर्षमा खाद्यबालीको उत्पादन ३.६४ प्रतिशतले बृद्धि भएको थियो भने फापर ६५.७१, जौं २५.०३ प्रतिशतले बृद्धि भएको थियो । 
सो वर्ष पाँच लाख ९९ हजार टन धान, तीन लाख ५५ हजार टन गहुँ, एक लाख तीन हजार टन कमै, १९ हजार टन कोदो, १४० टन फापर, दुई लाख २० हजार टन आलु, २४ हजार टन तेलहन, दुई लाख ८८ हजार टन तरकारी, एक लाख टन फलफूल र तीन लाख ५९ टन उखु उत्पादन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
 

प्रतिक्रिया