ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार खेलाडी छनोट

आइतबार १८, फागुन २०८१ ०७:३६

धनगढी । धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार जना फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग एनएसएलको आगामी सिजनका लागि धनगढी एफसीले शनिबार धनगढीस्थित रङ्गशालामा गरेको ट्यालेन्ट हन्टबाट चार जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली, सुमित सार्की, सोयम चौधरी र सन्दीप धामी रहेका छन् ।

कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपीए कलेजको सहयोगमा सम्पन्न ट्यालेन्ट हन्टमा छनोट भएका चार जना खेलाडीमध्येबाट एकजना खेलाडी नेपाल सुपर लिग २०२५ का लागि धनगढी एफसीको टिममा छनोट हुने छन् । तीन जना खेलाडीलाई ड्रिमर्स अफ धनगढी नामकरण गरी एसपीए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने डीएफसीको मातृ संस्था गो ड्रिमर्सले जनकारी दिएको छ । चार जनामध्ये कसले टिमबाट खेल्ने भन्ने अन्तिम टुङ्गो भने सी क्याटेगोरीको अक्सनको समाप्ति पछि हुने जनाइएको छ ।

नेपाली क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बेसडर नियुक्त गरेको धनगढी एफसीले यसअघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ । त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्रायकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ । हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए । जहाँ उनले ४ गोल गर्दै टिमलाई फाइनलसम्म पु¥याएका थिए । 

धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो । धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने सहायक प्रशिक्षकमा धनगढीका भिष्म भाट रहेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबलको तेस्रो संस्करण आउँदो चैत १६ गतेदेखि हुने छ ।

प्रतिक्रिया