ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा कामना सेवा विकास बैंकको ‘विजनेश कन्क्लेभ’

शनिबार २४, फागुन २०८१ ०४:५२

धनगढी । कामना सेवा विकास बैंकको आयोजनामा उद्योगी, व्यवसायीबीच बैंकिङ एण्ड विजनेश कन्क्लेभ कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा व्यवसायीहरुले सरकारी नीति तथा बैंकिङ क्षेत्रका समस्या र गुनासा राखेका थिए ।

नियमनकारी निकायको कडाइ, कोभिड १९ पश्चातको कर्जा विस्तार, युवा जनशक्ति विदेशपलायनलगायत कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा आफूहरु मारमा रहेको गुनासो व्यवसायीले गरेका थिए । नियमनकारी निकायको कडाइ, युवा पलायन, ब्याजदरलगायत कारणले व्यवसायीहरु पलायन हुन सक्नेतर्फ नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेशराज पाण्डेय र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा वक्ताको रुपमा रहेका थिए ।

 कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उपनिर्देशक ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतिको लागि दीर्घकाललाई सोँचेर राष्ट्र बैंकले आफ्ना नीतिनियमहरु तय गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने गरेको बताए । व्यवसायीहरुका गुनासालाई सम्बोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथा वित्तीय संस्थाहरुसँगका केही गुनासाहरु भएमा राष्ट्र बैंकसमक्ष समेत राख्न सकिने बताए ।

एफसिए पाण्डेयले आर्थिक चक्रका हरेक चरणमा बैंक र व्यवसायीहरु बीच फरक मत रहने भएता पनि एकअर्काका परिपुरक समेत भएकोको बताए । आर्थिक अनुशासन कायम गरी व्यवसाय संचालन गर्दा बैंक र व्यवसायीहरु बीचको सम्बन्ध सुधार हुने उनले बताए ।

कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओझाले कोरोनाको अवस्थाबाट व्यवसायीहरु उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन आग्रह गरे ।

नियमनकारी निकायका विभिन्न नीतिहरुले व्यवसायीहरु थप आक्रान्त बनेको र व्यवसायबाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने उनले बताए । अहिलेको अवस्थामा व्यवसायीसँग छलफल गर्नको लागि बैंकहरुलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा उनले धन्यवाद दिए ।
 
कामना सेवा विकास बैंक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीलाई असहज महसुस पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए । कामना सेवा विकास बैंकले व्यवसायीहरुका पिरमर्का बुझ्दै बैंकको कारोवार अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे । 

 कार्यक्रममा निर्माण व्यवसायी लक्ष्मण स्वाँर, किशोर ठकुराठी, सुनचाँदी व्यवसायी जगत सिजापती, कमलप्रसाद लामीछाने, यातायात व्यवसायी अनन्तराज जोशी, कृषि व्यवसायी बिष्णुराज बुर्लाकोटी, ग्याँस व्यवसायी छबिराज भट्टलगायतले व्यवसायीले भोग्दै आएका समस्या राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले गरेका थिए ।

बैंकले हालैमात्र चितवनका व्यवायीबीच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो । 
 

प्रतिक्रिया