धनगढी । नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा निर्माण व्यवसायी भीमबहादुर साउँदको राजेन्द्र निर्माण सेवा कालोसूचीमा परेको छ । पुरातत्व विभागको सिफारिसमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले राजेन्द्र निर्माण सेवा सहित तीन वटा फर्मलाई एक वर्षका लागि कालोसूचिमा राखेको हो ।
साउँदको निर्माण सेवाले ललितपुरको शंखमुलस्थित जगत नारायण मन्दिरको पुनर्निमाण गर्नका लागि ठेक्का लिएको थियो । तर पटकपटक म्याद थप र ठेक्काको काम गर्न पुरातत्व विभागले पत्र पठाएपनि काम नगरेपछि विभागले सिफारिस गरेको आधारमा कालोसूचीमा राखिएको कार्यालयकी कानुन अधिकृत संगीता महर्जनले बताइन् ।
कार्यालयले बुधबार प्रकाशन गरेका सूचनामा साउँदको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशीको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छन् । जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।
यसैगरी, डोटीको शिखर नगरपालिका वडा नं. ९ स्थित सीताराम माविले सिफारिसमा अशोक गैरेको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौं पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । बुधबारदेखि नै लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो ।
यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् ।
यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर गण हेडक्वाटर महोत्तरीको सिफारिसमा जी.एस. निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जी.एस. निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपाल प्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमान सिंह लामा हुन् ।
प्रतिक्रिया