ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भजनीमा विद्यार्थीमाथि हातपात गर्न गएकाहरुलाई उन्मुक्ति

बिहिबार २९, फागुन २०८१ ०२:४३

धनगढी । कैलालीको भजनीमा विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थीमाथि हातपात गर्न खोज्नेलाई प्रहरीले उन्मुक्ति दिएको छ । स्थानीयका अनुसार केही व्यक्तिहरुले गत २२ फागुनमा भजनी नगरपालिका–५, स्थित कर्मेश्वर माविमा प्रवेश गरेर विद्यार्थीमाथि हातपातको प्रयास गरेका थिए ।

विद्यालय सञ्चालन रहेको अवस्थामा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा सवार व्यक्तिहरु विद्यालयमा प्रवेश गरेपछि स्थानीय युवाहरुले सातवटा मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भजनीलाई बुझाएका थिए । मोटरसाइकलमा सवार व्यक्तिहरु भने फरार भएका थिए । 

कक्षा ११ मा अध्ययनरत विद्यार्थीबीच गत २० फागुनमा भएको झगडाको विषयलाई लिएर ती व्यक्तिहरु विद्यालयभित्र प्रवेश गरेका बुझिएको छ । ‘विद्यार्थीमाथि हातपात गर्ने उद्देश्यले विद्यालयमा केही व्यक्तिहरु गएको थाहा पाएपछि हामी पनि विद्यालय थियौँ । उनीहरुका मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझायौँ’ स्थानीयबासिन्दा सुरेन्द्रप्रसाद जैसीले भने, ‘तर विद्यालयमा गएको विषयमा छलफलसमेत नगरी प्रहरीले सम्बन्धित व्यक्तिलाई मोटरसाइकलहरु फिर्ता गरिदिएको छ ।’

६ वटा भारतीय नम्बर प्लेट र एउटा नेपाली नम्बर प्लेटको मोटरसाइकल आफूहरुले इलाका प्रहरी कार्यालयलाई बुझाएको उनले जानकारी दिए । आफूहरु विद्यालयमा गएपछि मोटरसाइकलमा आएकाहरु भने भागेको जैसीले बताए । प्रहरीले उनीहरुलाई कारबाही गर्नुको साटो छलफलसमेत नगराइ मोटरसाइकल फिर्ता गरिदिएको स्थानीयले बताएका छन् ।

आफूहरु बीच भएको झगडा मिलापत्र भइसकेको अवस्थामा केही व्यक्तिहरु विद्यालयभित्र आएर बल्झाउन खोजेको र स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुले आफूहरुलाई विभिन्न माध्यमबाट धम्क्याउने काम गरिरहेको भन्दै कारबाहीको मागसहित सात जना विद्यार्थीले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर प्रहरीले निवेदन दिएका विद्यार्थीलाई समेत नबोलाएर सम्बन्धित व्यक्तिलाई मोटरसाइकल फिर्ता गरिदिएको स्थानीयले बताएका छन् । 

स्थानीयबासिन्दा जैसीले मोटरसाइकल फिर्ता गर्दा प्रहरीले आफूहरुलाई पनि जानकारी नदिएको बताए । ‘विद्यालयमा गएका को थिए हामीले चिनेनौँ, मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई दिएका थियौँ’ उनले भने, ‘प्रहरीले कारबाही गर्नुपर्ने हो तर मोटरसाइकलसमेत फिर्ता गरिदिएको छ ।’ राजनीतिक दवावमा प्रहरीले मोटरसाइकल छोडेको स्थानीयको आरोप छ । 

इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरीक्षक युवनकुमार चौधरीले भने विद्यालयमा गएको विषयमा छलफलका लागि बोलाउँदा विद्यार्थी र स्थानीय नआएपछि मोटरसाइकल सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको बताएका छन् । उनले भारतीय नम्बर प्लेटका मोटरसाइकलसँग नेपालमा चलाउने अनुमतिपत्र नभएकाले जरिवाना तिराएर छोडिएको बताए ।

‘छलफलका लागि बोलाएका थियौँ तर पाँच–छ दिनसम्म विद्यार्थीहरु आएनन्, विद्यालयले पनि झगडा मिलिसक्यो भन्यो’ चौधरीले भने, ‘कोही नआएपछि नियमानुसार जरिवाना तिराएर मोटरसाइल छोडेका हौँ ।’ उनीहरु भजनीकै स्थानीय रहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया