धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिण्डर बिस्फोट हुँदा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिलिण्डर बिस्फोट हुँदा धनगढी उपमहानगरपालिका–६ मटियारीका ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन् ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार मिना खड्काको घरमा सिलिण्डर जडान गर्ने क्रममा बिस्फोट भएको हो ।
‘मिनाले सिलिण्डर खरिद गरेर स्थानीय व्यापारी जोशीलाई जडानका लागि बोलाएकी रहेछिन्,’ डीएसपी बोहराले भने, ‘सोही क्रममा सिलिण्डर बिस्फोट भएपछि तीन जना घाइते भएका छन् । तीनै जनाको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको छ । मिना र गोविन्दको अवस्था मध्यम छ भने चन्द्राको सामान्य छ ।’
प्रतिक्रिया