ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बने १८ पुल, पाँच पुल अलपत्र

नाै पुलको टेण्डर आह्वान

सोमबार ०१, बैशाख २०८२ ०९:४४

धनगढी । पुर्वाधार विकास कार्यालय कैलालीले सात वर्ष लगाएर कैलालीमा १८ वटा पुल निर्माण गरेको छ ।

सो कार्यालयको तथ्यांक अनुसार बहुवर्षीय ठेक्का मार्फत् जिल्लामा १८ वटा पुल निर्माण सम्पन्न भएको छ भने पाँच वटा पुल निर्माणाधीन अवस्थामा छ । १८ वटा पुल निर्माण गर्न ५८ करोड ७६ लाख ४१ हजार ६७ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । 

२०७३ मा बहुवर्षीय ठेक्का लगाइएको गोदावरीको भालुखोला पुल २०७६ र धनगढीको शान्तिनगर–जोशी टोल जोड्ने पुल २०७७ मा निर्माण भएको थियो । २०७४ मा ठेक्का लगाइएको लम्कीको चौरी नदी पुल २०७५ मै निर्माण सम्पन्न भएको थियो । २०७६ मा ठेक्का लगाइएका ८ वटा पुल मध्ये घुराहा पुल २०७८, घोडाघोडीको तांला खोला पुल, शेहरी बल्मी पुल, कान्द्रा नदी पुल र कैलारीको डम्मरा–बन्दरगौरी पुल २०७९ मा सम्पन्न भएको थियो । त्यसैगरी २०७६ मा ठेक्का लगाइएको जोशीपुर–जानकी गाउँपालिका जोड्ने बरिगाउँ पुल, चुरेको निगाली पुल र गौरीगंगाको मसुरिया–गदरिया पुल २०७७ मा निर्माण भएको थियो ।

२०७७ मा ठेक्का लगाइएको गोदावरीको कुटी बछेडा पुल, बाका खोला पुल र कौरा खोलामा चिसापानी–सोल्टा पुल २०७८, चाक्ले खोला पुल र बर्दगोरियाको घैला खोला पुल २०७९ बनेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।

२०७७ मा ठेक्का लगाइएको गौरीगंगा–५ को अण्डैया जानृ बाटोमा कटनी खोला पुल, गौरीगंगा–१ को चौमाला खोलामा पुरानो र नयाँ बजार जोड्ने पुल र कैलारीको वडा नं. १ र २ जोड्ने सुर्मी नाला पुल भने अलपत्र परेको छ । गौरीगंगा दुई पुल वाईपि कन्स्ट्रक्सनले र कैलारीको सुर्मी नाला पुल थेगिम कन्स्ट्रसनले अलपत्र पारेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसैगरी, २०७९ मा ठेक्का लिएको जोशीपुर गाउँपालिका–७ मा पर्ने घैला नाला पुल र धनगढी–६ को विजुलिया–शान्ति टोल जोड्ने नकधरिया खोलापुल कुटुम्भ सि एम भुवनेश्वरी जेभीले अलपत्र पारेको छ । पटक पटक म्याद थप गर्दा समेत यि पुलका निर्माण कम्पनीहरुले काम नगरेको पुर्वाधार विकास कार्यालयका ईञ्जिनियर विनोद खड्काले बताए ।

चालु आर्थिक वर्ष २०८१÷८२ मा ९ वटा पुलको बहुवर्षीय ठेक्का आव्हान गरिएको छ । ८८ करोड १९ लाख रुपैयाँ लागत अनुमान भएका ति पुलहरुको आर्थिक मामिला मन्त्रालयले बहुवर्षीय ठेक्का सहमती दिएपछि पुर्वाधार विकास कार्यालयले ठेक्का आव्हान गरेको छ । 

लम्कीको चुहा–मोतिपुर जोड्ने पथरिया नदी पुल, कैलारी–७ रामपुरको कटनी नदी पुल, गोदावरीको मोहना नदी पुल, गौरीगंगाको शिवपुर पुल, गदरिया–धर्मापुर सडकको धनगढी–१८, गोदावरीको २ र ४ नम्बर वडा जोड्ने पु्ल, जोशीपुर–५ को घैला नाला पुल, मोहन्यालको बादेखोला पुल र सागुरे खोला पुल निर्माणका लागि ठेक्का आव्हान गरिएको छ । यि पुलहरुको लागि चालु वर्षमा १५ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । हालै बोलपत्र आव्हान गरिएको र ठेक्का सम्झौता गर्न तीन महिना लाग्ने भएकोले यो वर्ष विनियोजित बजेट खर्च नहुने पुर्वाधार विकास कार्यालयका प्रमुख ईञ्जिनियर रामचन्द्र खत्रीले बताए ।

प्रतिक्रिया