धनगढी । सत्ताबाट बाहिरिएपछि जनतामा फर्किएको नेकपा माओवादी केन्द्र अहिले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’मा छ । फागुन ११ गते झापाको कचनकवलबाट सुरु भएको अभियान सुदूरपश्चिम पुग्दै छ ।
अभियान लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु आजै कैलाली आउँदै छन् । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ले मंगलबार कैलालीको टीकापुर, कैलारी र धनगढीमा सहिद परिवार भेटघाट र जनसभा कार्यक्रम राखिएको बताए ।
कार्यक्रमको तालिका्अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको पदाधिकारी तथा नेताहरुको टोली आज साँझा सत्तीघाटबाट कैलाली प्रवेश गर्ने छ । टोलीले टीकापुर– ७, ८ र ९ मा रहेको सुर्यपुर र झुंगामा सर्वसाधारणको घरमा बास बस्ने छ ।
अध्यक्ष प्रचण्ड सहितको टोलीले भोलि बिहानै मर्निङ वाक गरिसकेपछि सुर्यपुरमै खाजा खाएर सहिद परिवारसंग भेटघाट गर्ने छ । बिहान ९ बजे टीकापुर–९ झुंगामा जनसभालाई अध्यक्ष सहितका नेताहरुले सम्बोधन गर्ने छन् ।
त्यसपछि कैलारी गाउँपालिका पुगेर सो टोलीले सहिद परिवारसंग भेट गर्ने छ भने साढे १२ बजेट कैलाली–५ बैसपुरमा आयोजित जनसभालाई सम्बोधन गर्ने छ । साढे दुई बजे टोली धनगढी–१९ डिपोबजार पुगेर सहिद परिवारलाई भेट गर्ने र साढे ३ बजे धनगढीको ओम प्यालेसमा विभिन्न क्षेत्रका व्यक्तिहरुसंग अन्तरक्रिया गर्ने प्रदेश अध्यक्ष चौधरीले बताए ।
जागरण अभियान टोली भोलि साँझ नै कञ्चनपुर जाने छ । माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको यो अभियानलाई वैशाख १७ गते बुधबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा समापन गर्ने छ । त्यसअघि, कञ्चपुरको पुनर्वास २ मोतिबस्तीमा बास बस्ने र बुधबार मर्निङ वाकपछि सहिद स्मृति सभाहलमा सहिद परिवारसंग भेट गर्ने, बेलौरीमा रामनगर खानेपानी योजना उद्घाटन गर्ने, बेलौरी नगरपालिकाको सभाहलमा अन्तरक्रिया गर्ने, बेल्डाँडीमा सहिद परिवारसंग भेटघाट गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
तराइँ मधेशमा पार्टी गतिविधि सञ्चालन गरी जनसम्पर्क विस्तार गर्ने उद्देश्यका साथ माओवादी केन्द्रले हुलाकी राजमार्ग छेउछाउका बस्तीमा अभियान सञ्चालन गरिरहेको केन्द्रीय उपमहासचिव तथा प्रदेश इञ्चार्ज गिरीराममणी पोखरेलले बताए । उनले अध्यक्ष प्रचण्ड लगायतका टोलीलाई बुधबार कृष्णपुर नगरपालिकामा बिदाई गरिने र सोही दिन धनगढी विमानस्थलबाट जहाजमा काठमाडौं जाने बताए ।
प्रतिक्रिया