धनगढी । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ कञ्चनपुर पुगेर समापन भएको छ । हुलाकी राजमार्ग केन्द्रित उक्त अभियान माओवादी केन्द्रले गतवर्षको १२ फागुनमा झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु गरेको थियो ।
बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिनापछि बुधबार कञ्चनपुरको भीमदत्तनगर पुगेर समापन भएको हो । अभियान समापन कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानका क्रममा जनताका मुद्दा, अधिकार र विकासका मुद्वा उठान गरिएको बताए ।
उनले अभियानका क्रममा सहिद र वेपत्ताका परिवारलाई भेटेर उनीहरुको अवस्था नजिकबाट बुझ्ने कार्य भएको पनि बताए । अभियानबाट अपेक्षा गरिएकोभन्दा बढी उपलब्धि हासिल गरिएको प्रचण्डको दाबी थियो ।
‘तराई–मधेस जागरण अभियान माओवादी केन्द्रको मात्रै नभएर सबैको साझा अभियानका रुपमा सफल भएको छ,’ उनले भने, ‘अब तराई र मधेसका विकासबारे साझा एजेण्डा बनाउने छौं ।’
प्रतिक्रिया