धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्ट विगतमा पनि विवादित रहेको पाइएको छ ।
दार्चुला स्थायी ठेगाना भएका बिष्ट यसअघि उनी जिल्ला अदालत कञ्चनपुरमा तहसिलदार थिए । त्यहाँ पटकपटक उनको अधिवक्ताहरूसँग विवाद भएको थियो । पटकपटक मुद्दाको फैसलामै उनले ‘यहाँका अधिवक्ताहरू नजान्ने छन् । पिछडिएका छन्’ भनेर लेखिदिएका थिए ।
अधिवक्ताहरूसँगको विवादपछि उनको सरुवा भएको थियो । जिल्ला अदालत नुवाकोटमा पनि बिष्टले स्रेस्तेदारको रुपमा काम गरेका थिए । त्यहाँ पनि उनको न्यायाधीश लोकजंग शाहसँग विवाद भएको थियो ।
उनकै पत्रले बुधबार नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परे । पत्र नक्कली भएको पुष्टि भएपछि चौधरीलाई बुधबार नै रिहा गरिएको छ ।
टीकापुर घटनामा तीन तहको अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम १५ जेठ २०८० मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद कट्टा भएर कैदमुक्त भए । रेशमलाई छोड्ने सरकारको निर्णयविरुद्ध १६ जेठ २०८० मै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले रिट दिएकी थिइन् ।
त्यो रिटमा पटक–पटक पेसी तोकिँदै सर्दै आएको छ । आउँदो असारमा अर्को पेसी छ ।
नक्कली पत्र पठाउने शाखा अधिकृत बिष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको छ भने सर्वोच्च प्रशासनले चौधरी पक्राउको पत्र अनधिकृत रहेको भन्दै प्रहरीलाई पत्राचार गरिसकेको छ । एकाएक पत्र तयार गरेर पार्टी एकताको कार्यक्रम नै स्थगित हुने गरी हतारहतार रेशमलाई समातेकाले अनेक प्रश्नहरू उठेका छन् ।
बिष्टले प्रहरीलाई टीकापुर घटनामा मारिएका व्यक्तिको आत्माले पोलेकाले यस्तो हर्कत गरेको बयान दिएका छन् ।
प्रतिक्रिया