ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
आशाको सञ्चार

शिक्षामा सुधार गर्न डिलासैनीको १० वर्षे रणनीति

बिहिबार ०१, जेठ २०८२ ११:१९

धनगढी । बैतडीको डिलासैनी गाउँपालिकाले शैक्षिक सुधारका लागि १० वर्षे शिक्षा विकास रणनीति तयार पारेको छ । गाउँपालिकाले शिक्षा विकास रणनीति लागू गरेर शिक्षामा सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

रणनीतिअन्तर्गत शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकलाई प्रशिक्षण दिने, विद्यालयहरुमा पूर्वाधार थप्ने, शिक्षण सामग्रीको प्रयोगमा जोड दिनेलगायतका क्रियाकलापलाई प्राथमिकता दिइएको छ । रणनीति लागू भएसँगै अहिले तीन वटा विद्यालयमा स्मार्ट बोर्डमार्फत् कक्षाकोठामा अध्यापन हुँदै आएको छ । 

त्यस्तै दिवा खाजामा पनि परिवर्तन भएको छ । दिवा खाजालाई स्थानीय खाद्य उत्पादनसँग जोडिएको छ । शिक्षा विकास रणनीति लागू भएपछि विद्यालयहरुमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रममा पनि परिवर्तन आएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक महादेव भट्ट बताउँछन् । 

स्थानीय उत्पादनलाई दिवा खाजाका रुपमा विद्यार्थीलाई दिने गरिन्छ । स्थानीय उत्पादनलाई प्रयोग गर्दा विद्यार्थीको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने गाउँपालिकाको भनाइ छ । 

शिक्षकलाई तालिम तथा प्रशिक्षणलाई प्राथमिकतामा राखिएको उनले बताए । गाउँपालिकाको एउटा विद्यालयमा पढाइ सँगैसँगै कमाइ (अर्न एण्ड लर्न) कार्यक्रम लागु गरिएको छ । संघीय सरकारको कार्यक्रमअन्तर्गत यो कार्यक्रम लागु गरिएको हो । 

गाउँपालिकाका अनुसार अर्न एण्ड लर्न कार्यक्रमअन्तर्गत विद्यार्थीले बेमौसमी तरकारी खेती लगाउने गरेका छन् । त्यस्तै विद्यार्थीहरुले अगरबत्तीसमेत उत्पादन गर्दै आएका छन् । यसले विद्यार्थी पढाइ सँगसँगै केही आम्दानीसमेत गर्न थालेका छन् । 

लर्न एण्ड अर्न कार्यक्रमले आम्दानीसँगै विद्यार्थीलाई सीप सिक्नसमेत मद्दत पुगेको छ । जुन सीप भविष्यमा विद्यार्थीलाई जीवनयापनको माध्यम बन्न सक्ने ठानिएको छ ।

शैक्षिक सुधारलाई केन्द्रमा राखेर १० वर्षे रणनीति तयार पारिएको प्राविधिक सहायक भट्ट बताउँछन् । त्यस्तै गाउँपालिकाले दुई जनालाई एमबीबीएस अध्ययनमा छात्रवृति प्रदान गरेको छ । 

गाउँपालिकाको छात्रवृतिमा दुई जनाले एमबिबिएस शिक्षा अध्ययन गरिरहेका हुन् । त्यस्तै ६ जनालाई पीसिएल लेवलको छात्रवृत्ति उपलब्ध गराएको छ । गाउँपालिकाभित्र ५६ वटा सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया