ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बालक मृत्यु घटनामा कसरी जोडियाे सुदूरपश्चिमका मन्त्री पालकाे नाम ?

शुक्रबार ०६, भदौ २०८२ ०१:१०

धनगढी । तीन साताअघि १७ साउनमा बैतडीको डिलासैनी गाउँपालिका– ३ गिरीबगडका १३ वर्षीय किशोर किरन कोलीको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका कोलीलाई गोकुलेश्वर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार विद्युत प्रशारण लाइनको मुनि संकलन गरेर राखिएको बालुवाको थुप्रोमा खेल्ने क्रममा कोलीलाई करेन्ट लागेको थियो । 

उक्त घटनामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको नाम जोडिएको छ । घटना भएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीको डिलासैनी समिति र भोलिपल्ट नेपाली काँग्रेस डिलासैनी गाउँ कार्यसमितिले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरे । दुबै पार्टीले पनि घटनामा मन्त्री पालको नाम जोडेका थिए । मन्त्री पालको संरक्षणमा गैरकानुनी रुपमा चमेलिया नदीबाट उत्खनन् गरेर थुपारिएको बालुवाको ढिस्कोका कारण करेन्ट लागेर बालकको मृत्यु भएको दुबै पार्टीको आरोप थियो ।

‘मन्त्री पालको प्रत्यक्ष संरक्षणमा चमेलिया नदीबाट जेसीबी, स्काइभेटर प्रयोग गरी साउन महिनाको वर्षायाममा गैरकानुनी तरिकाले बालुवा उत्खनन् गरिएको थियो,’ काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘सोही उत्खननका कारण विद्युत लाइनमुनि बालुवाको थुप्रो जमाइएको र त्यसले विद्युत प्रवाहलाई सहजै जोखिममा पारेको अवस्थामा कोलीको ज्यान गएको हो ।’

घटनापछि रातारात बालुवा हटाउने, प्रमाण नष्ट गर्ने र पीडित परिवारमाथि आर्थिक प्रलोभनसहित दबाब दिने प्रयास भएको आरोप दुबै पार्टीको थियो । घटनाको १० दिनपछि नेपाली काँग्रेस डिलासैनीेले जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिनको माग गरेको थियो । 

मृतककी आमाको खातामा कसले हालिदियो पाँच लाख 
राजमती कोलीले चार वर्षअघि श्रीमान् गुमाइन् । सहाराका रुपमा रहेका छोरा किरनको पनि १३ वर्षको कलिलै उमेरमा मृत्यु भएपछि अहिले राजमतीको आँखा ओभानो छैन । छोरा गुमाएको पीडामा रहेकी राजमतीलाई पाँच लाखमा घटना मिलाइएको खबरले झन पीडा थपिदिएको छ । 

न्यायको लागि कानुनी उपचार खोज्ने तयारीमा रहेकी राजमतीको खातामा जानकारी नै नदिएर एमालेबाट निर्वाचित डिलासैनी गाउँपालिका–३ का वडाध्यक्ष रघुवीर बोहराले पाँच लाख रुपैयाँ हालिदिएका छन् । 

‘मैले त क्षतिपूर्तिको कुरा पनि गरेको थिइन्, न्यायका लागि कानुनी लडाइँ लड्छु भनेकी थिए,’ राजमतीले भनिन्, ‘तर, मलाई जानकारी नै नदिएर पाँच लाख रुपैयाँ हालिएको छ । मिलापत्र भएको हल्ला चलाइएको छ ।’ वडा अध्यक्ष बोहराले राजमतीको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको स्वीकार गरे । ‘श्रीमानपछि छोरा गुमाएर राजमतीको परिवार पीडामा थियो, उनको परिवार विपन्न पनि हो,’ उनले भने, ‘हामीले आर्थिक संकलन गरेर पैसा दिएका हौं । घटना मिलापत्रका लागि त्यो रकम जम्मा गरेको होइन ।’ वडाध्यक्ष बोहराले बालकलाई करेन्ट लागेको स्थानमा जम्मा गरिएको बालुवा मन्त्री पालकै भएको जानकारी आफूले पनि पाएको बताए ।  

मृतक बालककी आमा राजमतीका अनुसार किरनको मृत्युको कारण करेन्ट भए पनि घटनामा मन्त्री पाल दोषी छन् । ‘विद्युतको लाइन नै छुने गरी मन्त्री पालका मान्छेले बालुवाको थुप्रो बनाइदिएका छन्,’ राजमतीले भनिन्, ‘सोही कारण मेरो छोरालाई करेन्ट लागेको हो ।’ मृतकका परिवारका सदस्यका अनुसार घटनाको अनुसन्धान र दोषीलाई कारबाही गर्न जाहेरी दिन खोज्दा प्रहरीले लिन मानेको छैन । मन्त्री पाल, डिलासैनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रघुवीर बोहरा र स्थानीय मुकेशबहादुर पालविरुद्ध जाहेरी दिन खोज्दा प्रहरीले दर्ता नगरेको मृतकका काका तुलाराम कोलीले बताए । ‘जाहेरी दर्ता नभएपछि हुलाकबाट पठाएका छौं,’ उनले भने । यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बडूले भने पीडित पक्षबाट जाहेरी नआएको दाबी गरे । 

के भन्छन् मन्त्री पाल ?
बालक मृत्युको घटनामा आफूलाई अनावश्यक र पूर्वाग्राही रुपमा जोडिएको दाबी सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पालको छ । ‘त्यो घटनामा मेरो कुनै पनि संलग्नता नै छैन, म त असारदेखि बैतडी गएकै छैन,’ मन्त्री पालले भने, ‘अनावश्यक र पूर्वाग्राही ढंगले मलाई जोड्ने काम भएको छ ।’

घटनास्थलमा थुपारिएको बालुवा भने आफ्नो हुन पनि सक्ने भनाई मन्त्री पालको छ । ‘त्यो क्षेत्रमा काम भइरहेको छ र काम गर्ने टिम छुट्टै छ, सबै जानकारी मलाई हुँदैन,’ मन्त्री पालले भने, ‘बालुवा हाम्रो हुन पनि सक्छ । बालुवाका कारणले त मान्छेको मृत्यु हुँदैन । मृत्यु त करेन्टका कारण भएको हो ।’

खगेन्द्र सुनारको त्यो स्टाटस
दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले बिहीबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । मन्त्री पालको गाडीको ठक्करबाट बालकको मृत्यु भएको र घटना मिलाउन पीडितको खातामा पाँच लाख हालेको आरोप सुनारले लगाए । 

तर, मन्त्री पालको सचिवालयले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको छ । ‘मन्त्रीज्यू असार २८ गतेपछि धनगढी र काठमाडौंमा रहेर मन्त्रालयका कामकाजमा संलग्न रहनुभएको थियो । उहाँको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति हामी अचम्मित भएका छौं,’ विज्ञप्तिमा भनिएको छ । 

फेसबुकमा आधारहीन आरोप गरिएको भन्दै मन्त्री पालको सचिवालयले नेपाल प्रहरीको साइबर सेलमा उजुरीसमेत दर्ता गरेको र आवश्यक कानुनी कारबाही अघि बढ्ने जनाएको छ । 

प्रतिक्रिया