धनगढी । वैदेशिक रोजगार सम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालयमा दिन मिल्ने व्यवस्था गरिएको छ । नेपाल सरकारले वैदेशिक रोजगार कानुनहरु संशोधन गरी जिल्लामै उजुरी लिने व्यवस्था गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
सामाजिक विकास मन्त्रालयले शुक्रबार धनगढीमा आयोजना गरेको वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी कानुनी व्यवस्था प्रस्तुत गर्दै हमालले प्रमुख जिल्ला अधिकारीलाई मेलमिलाप गराउनेसम्मको अधिकार दिएको बताए ।
यसअघि वैदेशिक रोजगार सम्बन्धी उजुरी काठमाडौं पुगेर वैदेशिक रोजगार विभागमा मात्रै दिन सक्ने व्यवस्था थियो । जसले गर्दा कतिपय वैदेशिक रोजगार पीडितले समयमा उजुरी समेत दिन सक्ने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी हमालले वैदेशिक रोजगार सम्बन्धी सबै खाले उजुरी जिल्ला प्रशासन कार्यालयमा दिन मिल्ने कानुन लागु भइसकेको बताए ।
उनले परेका उजुरीमध्ये मेलमिलाप गराउन सकिने मुद्दामा प्रमुख जिल्ला अधिकारीलाई मेलमिलाप समेत गराउन सक्ने अधिकार अहिलेको कानुनबाट दिइएको बताए । वैदेशिक रोजगार सम्बन्धी मेलमिलाप कार्यविधि २०८० बमोजिम प्रमुख जिल्ला अधिकारीले कैलालीको व्यक्ति पीडित भई जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएमा अर्को जिल्लाको व्यक्तिले ठगेको रहेछ भने ठगिएको व्यक्तिलाई त्यस जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत् झिकाएर मेलमिलाप गर्न सकिने व्यवस्था भएको उनले बताए ।
सो कार्य गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगार शाखा स्थापना गर्न र मेलमिलापकर्ता नियुक्त गर्न समेत सकिने प्रमुख जिल्ला अधिकारी हमालले बताए । उनले कैलालीमा चाप कम रहको हुँदा जिल्ला प्रशासनको मुद्दा शाखाले नै हेर्ने व्यवस्था गरिएको बताए ।
उनले बैदेशिक रोजगार कल्याणकारिणी कोषबाट पाइने आर्थिक सहायता सम्बन्धी दावी स्थानीय तहको रोजगार केन्द्रबाट गर्न सकिने व्यवस्था भइसकेको बताए ।
सुदूरपश्चिमका नौ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र
वैदेशिक रोजगारमा जाने व्यक्ति र उनको परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालित आप्रवासी स्रोत केन्द्र सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा सञ्चालन हुने भएको छ ।
यसअघि प्रदेशको कैलाली जिल्ला प्रशोसन कार्यालयमा मात्रै आप्रवासी स्रोत केन्द्र सञ्चालनमा थियो । नेपालका तीन तहका सरकार र स्वीस सरकारको लागत साझोदारीमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भएपछि नौ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालन गरिन थालिएको हो ।
कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्र सञ्चालन भइसकेको सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश संयोजक पञ्चराम चौधरीले बताए । उनले डडेल्धुरा जिल्लामा कर्मचारी छनोट गरी सकेपछि स्रोत केन्द्र सञ्चालन गरिने बताए ।
स्रोत केन्द्रले वैदेशिक रोजगारमा जानेलाई सूचना तथा सीपका लागि परामर्श दिनुका साथै मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता, क्षतिपूर्ति तथा आर्थिक सहायता दावीका लागि सहजिकरण लगायतको कार्य गर्दै आएको छ ।
कैलालीको टीकापुर, घोडाघोडी नगरपालिका, जानकी, बर्दगोरिया गाउँपालिका र धनगढी उपमहानगरपालिकामा सञ्चालन हुँदै आएको सुरक्षित आप्रवासन कार्यक्रम अब कैलालीको लम्कीचुहा, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा समेत सञ्चालन हुने संयोजक चौधरीले बताए ।
कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काले सीप सिकेर गएमा अहिले आइरहेकोभन्दा दोब्बर विप्रेषण भित्र्याउन सकिने बताए ।
प्रतिक्रिया