धनगढी । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरेपछि बाजुराको बुढीनन्दा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन थालेको छ । भौतिक पूर्वाधारको निर्माणसँगै विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन, शिक्षक जनशक्ति व्यवस्थापनजस्ता कार्यले सामुदायिक विद्यालयको नतिजा सुधार हुँदै गएको हो ।
गतवर्ष जिल्लाभरि नै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निराशाजनक हुँदा बुढीनन्दामा भने सामुदायिक विद्यालयहरु ४९ देखि ७० प्रतिशतसम्म नतिजा ल्याउन सफल भए । गतवर्ष गरिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको उपलब्धि मापनमा बुढीनन्दाले जिल्लामा पहिलो स्थान प्राप्त गर्यो ।
बुढीनन्दाका नगर प्रमुख जनककुमार बोहराले सामुदायिक शिक्षा सुधारलाई केन्द्रमा राखेर सञ्चालन गरिएका विभिन्न कार्यक्रमको उपलब्धिस्वरुप विद्यालयहरुको नतिजामा सुधार देखिएको बताए । मानिसका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले आफूहरु निर्वाचित भएर नगरपालिकामा आएदेखि शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
बुढीनन्दाका नगर प्रमुख जनककुमार बोहरा
नगरपालिकाको सहयोगमा सबैजसो सामुदायिक विद्यालयहरुमा उपचारात्मक कक्षाहरु सञ्चालन भइरहेको नगर प्रमुख बोहराले जानकारी दिए । ‘विद्यार्थी जुन विषयमा कमजोर छन्, त्यही विषयमा उपचारात्मक कक्षा सञ्चालन गरिरहेका छौँ,’ नगरप्रमुख बोहराले भने ‘उपचारात्मक कक्षाहरु सञ्चालन भएपछि नतिजामा सुधार देखिएको छ ।’ कक्षा ३, ५, ८ र १० मा अध्ययनरत कमजोर विद्यार्थीलाई लक्षित गरेर शिक्षकले बिहान–बेलुका उपचारात्मक कक्षा सञ्चालन गर्ने गर्छन् ।
अतिरिक्त कक्षा पढाएबापत नगरपालिकाले शिक्षकहरुलाई प्रोत्साहनस्वरुप भत्ता दिने गरेको छ । पछिल्ला करिब तीन वर्षको अवधिमा सातवटा विद्यालयमा भवनहरु थपिएका छन् । आमाबुवा नभएका र सिजनअनुसार लेक–बेसी बसाइँसराइँ गर्ने भोटे जनजाति समुदायका बालबालिकाका लागि नगरपालिकाले आवाशीय विद्यालय सञ्चालन गरिरहेको छ । वडा नम्बर ९ मा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयमा आवाशीय कार्यक्रम लागू छ । विद्यालयहरुमा शैक्षिक जनशक्ति व्यवस्थापनका लागि नगरपालिकाले ५९ जना नगर शिक्षक नियुक्त गरिएको छ । पालिकाको कक्षा ८ को नजितामा पनि अहिले सुधार देखिएको नगर प्रमुख बोहराको भनाई छ ।
‘सुरुको वर्ष हामी आउँदा ८ कक्षाको नतिजा १७ प्रतिशत मात्र थियो । उपचारात्मक कक्षा सञ्चालन हुन थालेपछि गत वर्ष नतिजा सुधार भएर ६५.५ प्रतिशत पुग्यो’ उनले भने, ‘समग्र सिकाइ उपलब्धी, प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको उपलब्धी र एसईईको नजितामा पनि जिल्लाभरिमा हामी अगाडि छौँ ।’ चिट चोर्ने प्रवृतिलाई अन्त्य गरेर परीक्षा प्रणालीलाई पनि सुधार गरिएको उनको भनाई छ । पठनपाठनसँगै विद्यार्थीको अतिरिक्त क्षमता प्रस्फुटनमा सहयोग गर्न खेलकुद, नृत्य, संगित आदिलाई पनि नगरपालिकाले प्राथमिकता दिएको छ । खेलकुद, संगित र नृत्यका लागि प्रशिक्षक नियुक्त गरिएका छन् । विभिन्न विधाका प्रशिक्षकहरु विद्यालयमा गएर विद्यार्थीलाई खेल, संगित र नृत्य प्रशिक्षण गराउँछन् । यसले विद्यार्थीको खेलकुदमा पनि सकारात्मक उपलब्धी देखिएको नगरपालिकाको दावी छ ।
बुढीनन्दा नगरपालिका गत वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम भएको थियो । नगर प्रमुख बोहराका अनुसार १३ वर्षपछि जिल्ला सदरमुकाम बाहिरको विद्यालय राष्ट्रपति रनिङ्ग शिल्डमा पहिलो पटक पहिलो भएको हो । प्रशिक्षक नियुक्त गरेर खेलकुदका गतिविधि सञ्चालन गर्न थालेकाले जिल्ला र प्रदेशस्तरीय खेलकुदमा जिल्लाको प्रतिनिधित्व गर्दै बुढीनन्दाका विद्यार्थीको बर्चश्व देखिन थालेको उनले बताए । नगरपालिकाका अनुसार सामुदायिक विद्यालयमा कक्षा ११ र १२ निशुल्क गरिएको छ । विद्यार्थीलाई सामुदायिक अस्पतालमा उपचारमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
दुई वटा विद्यालयमा पढाउँदै, कमाउँदै कार्यक्रम लागु छ । नगरपालिकाको शिक्षा शाखाले हरेक दिन नगरपालिका भित्रका २२ वटै सामुदायिक विद्यालयमा फोन गरेर शिक्षकको उपस्थितिबारे जानकारी लिन्छ । यसले शिक्षकहरुको नियमित उपस्थिति बढाएको नगर प्रमुख बोहराले बताए । उनले सबै विद्यालयमा नगरपालिकाले इन्टरनेट जोडेको, शैक्षिक क्यालेण्डर तथा स्थानीय पाठ्यक्रम बनाएर लागु गरेको जानकारी दिए ।
पालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुसँग नियमित बैठक पनि गर्दै आएको छ । आफू आएको पहिलो वर्षनै नगर प्रमुख रोजगार कार्यक्रम सञ्चालन गरेर विद्यालयमा खानेपानी, भवन, पर्खाल निर्माणमा काम गरेको नगर प्रमुखले बोहरा बताए । बुढीनन्दा–२, कोल्टीस्थित जनप्रकाश माविको वर्षौँदेखि अलपत्र भवन पनि जनप्रतिनिधिको पहलमा अहिले निर्माण पूरा भएको छ । नगरपालिकाले २० जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्नका लागि वार्षिक २० हजारदेखि एक लाख रुपैयाँसम्म छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
‘शिक्षा भनेको सबैभन्दा महत्वपूर्ण पक्ष हो । मान्छे शिक्षित सभ्य हुनुपर्छ । मान्छे योग्य भएन भने के का लागि विकास गर्ने । मान्छे शिक्षित भए विकासमा पनि टेवा पुग्छ’ नगर प्रमुख बोहरा भन्छन्, ‘सभ्य समाज निर्माण गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन शिक्षालाई प्राथमिकता दिएका छौँ ।’ प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शाहले अतिरिक्त कक्षा सञ्चालन भएपछि बुढीनन्दाको शैक्षिक नतिजा बाजुरामै अग्रस्थानमा देखिन थालेको बताए । नगर शिक्षकलाई आवश्यकताअनुसार सबै विद्यालयमा खटाइएको शाहले बताए ।
नगरको शिक्षा समितिले कुन विद्यालयमा कुन विषयको दरबन्दी आवश्यक छ भन्ने तथ्यांक लिएपछि त्यसका आधारमा शिक्षक भर्ना गरिएको प्रमुख प्रशासकीय अधिकृत शाह बताउछन् । जनप्रकाश माविका प्रधानाध्यापक जयलाल कार्की पालिकाले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको देखिएका बताउँछन् । ‘शिक्षामा लगानी बढाइएको छ, महिनामा एक पटक नियमित प्रअ बैठक आयोजना गर्ने गरिएको, पालिकाले ५९ जना नगर स्वमंसेवी शिक्षकको दबन्दी नै सिर्जना गरेको छ,’ प्रअ कार्कीले भने ‘नगरले अतिरिक्त कक्षाहरु सञ्चालन, धुलोमूक्त कक्षा कोठाहरु बनाउने लगायतका कामहरु पनि प्राथमिकता दिएको छ ।’
विगतमा बाजुराको पूर्वाेत्तर क्षेत्र कोल्टी, हुम्ला, कालिकोट र मुुगु क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालय हो जनप्रकाश । अहिले पनि जनप्रकाशमा हुम्लाको ताँजाकोट लगायतका स्थानबाट विद्यार्थीहरुसमेत अध्ययनरत रहेका प्रअ कार्कीले बताए । पालिकाकै पहलमा अहिले बल्ल जनप्रकाशलाई नमूना विद्यालयमा छनोट गरिएकोमा खुसी लागेको बताउँदै प्रअ कार्कीले भने ‘आगामी दिनमा यस क्षेत्रको शैक्षिक अवस्था अझ राम्रो होला भन्ने आशा गर्न सकिन्छ ।’
प्रतिक्रिया