धनगढी । कैलालीमा रहेका उद्योगभन्दा शैक्षिक संस्थाले बढी कर तिर्ने गरेको देखिएको छ । आन्तरिक राजस्व कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिर्दै नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट कलेज) सबैभन्दा ठूलो करदाता भएको छ ।
नाष्टले सो वर्ष १५ करोड ५२ लाख ४६ हजार ५५४ रुपैयाँको कारोबार गरी ८४ लाख ५९ हजार ४४८ रुपैयाँ राजस्व बुझाएको छ । नाष्टको करयोग्य आय तीन करोड ३७ लाख ८६ हजार ४५७ रुपैयाँ रहेको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।
आन्तरिक राजश्व कार्यालय धनगढीको दोस्रो ठूलो करदाता ठाकुर एग्रो इण्डष्ट्रिज भएको भएको छ । इण्डष्ट्रिजले आर्थिक वर्ष २०७९/०८० मा ५१ करोड ९० लाख ६०५ रुपैयाँको कारोबार गर्दा करयोग्य आय आठ करोड ७५ लाख ६२ हजार २६ रुपैयाँ आर्जन गरेको थियो । सोवाफत् इण्डष्ट्रिजले ६८ लाख ८३ हजार ३९० रुपैयाँ राजस्व दाखिला गरेको छ ।
तेस्रो ठूलो करदाता भागेश्वर फ्लोर मिल्स प्रालिले ६५ लाख ४४ हजार ५८५ रुपैयाँ राजस्व दाखिला गरेको कार्यालयको तथ्यांक छ । भागेश्वरले ३३ करोड ९९ लाख ५६ हजार २५७ रुपैयाँको कारोबार गर्दा तीन करोड २७ लाख २२ हजार ९२७ रुपैयाँ करयोग्य आय आर्जन गरेको सूचना अधिकारी माझीले जानकारी दिए ।
सुदूरपश्चिमाञ्चल एमेडेमी प्रालि (एसपिए) चौथो ठूलो करदाता हुँदै ६२ लाख ९३ हजार ७८ रुपैयाँ राजस्व भुक्तानी गरेको छ । एसपिएले १६ करोड ६० लाख ९४ हजार ४२४ रुपैयाँको कारोबार गर्दा दुई करोड २७ लाख ३० हजार ७६५ रुपैयाँ करयोग्य आय आर्जन गरेको थियो ।
त्यसैगरी चौलानी एजुकेसन मार्ट प्रालि ५७ लाख ३६ हजार ७३५ रुपैयाँ राजस्व भुक्तानी गर्दै पाँचाँै ठूलो करदाता भएको छ । चौलानीले २४ करोड १९ लाख ३२ हजार ३३८ रुपैयाँको कारोबार गर्दा दुई करोड २५ लाख १९ हजार ७०३ रुपैयाँ करयोग्य आम्दानी गरेको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक राजस्व कार्यालय धनगढीले तीन अर्ब ३६ करोड ३० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा न्यून दुई अर्ब ५७ करोड ९६ लाख ७२ हजार रुपैयाँ (लक्ष्यको ७६.७८ प्रतिशत) राजश्व संकलन गरेको थियो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा दुई अर्ब ६७ करोड ८० लाख ३४ हजार रुपैयाँ (८६.८३ प्रशित) राजश्व संकलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को विवरण प्रविष्ट गर्ने समय आउँदो पुस मसान्तसम्म रहेकोले सो वर्षको करदाता विश्लेषण हुन बाँकी रहेको सूचना अधिकारी माझीले बताए ।
प्रतिक्रिया