धनगढी । नेपाल सरकारबाट आगामी आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहले ३४ अर्ब ७१ करोड २८ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
कैलालीका स्थानीय तहले सात अर्ब ११ करोड १८ लाख, कञ्चनपुरका स्थानीय तहले तीन अर्ब ९७ लाख ९५ लाख, डडेल्धुराका स्थानीय तहले दुई अर्ब ५४ करोड पाँच लाख र बैतडीका स्थानीय तहले तीन अर्ब ८६ करोड ६१ लाख अनुदान पाउने छन् ।
यस्तै, दार्चुलाका स्थानीय तहले तीन अर्ब २० करोड २१ लाख, अछामका स्थानीय तहले तीन अर्ब ८१ करोड ५१ लाख, डोटीका स्थानीय तहले तीन अर्ब ५३ करोड १२ लाख, बझाङका स्थानीय तहले तीन अर्ब ९६ करोड ७६ लाख र बाजुराका स्थानीय तहले दुई अर्ब ६९ करोड ८९ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाउने छन् ।
सुदूरपश्चिमको एकमात्र धनगढी उपमहानगरपालिकाले ९९ करोड नौ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाउने छ । कार्य सम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट भएको अमरगढी नगरपालिकाले आउँदो वर्ष ४१ करोड १० लाख रुपैयाँ पाउने छ ।
चालुआर्थिक वर्षमा धनगढीका लागि एक अर्ब एक करोड ८७ लाख लाख विनियोजन गरिएको थियो भने अमरगढीका लागि ४४ करोड ८९ लाख विनियोजन गरिएको थियो ।
कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान बृद्धि भए पनि अन्य अनुदान घटेकाले अमरगढीले आगामी वर्ष पाउने अनुदान घटेको हो ।
चालुवर्षमा अमरगढीका लागि कार्यसम्पादनमा आधारित अनुदान ६२ लाख विनियोजित थियो भने आगामी वर्षका लागि सो अनुदान पाँच करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया